इटहरीः मोरङको केराबारी गाउँपालिका ७ स्थित चौबिसेमा गएराति अज्ञात समूहले लुटपाट गरेको छ ।

दुई जनाको समूहमा आएका नकावधारीहरुले मध्यरातमा गणेशबहादुर विश्वकर्माको घरबाट नगद चालीस हजार रुपैयाँ र एक तोला सुनको सिक्री लुटेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काले बताए । उनका अनुसार गणेशबहादुर घरमा नभएको मौकामा लुटेरा समूहले उनकी श्रीमती उर्मिलालाई नशालु पदार्थ सुँघाई बेहोस बनाएर लुटपाट गरेको हो । ११ र १३ वर्षका दुई छोराछोरीका साथमा घरमा सुतेकी उर्मिला भैँसी खुस्किएको आशंकामा राति ११ बाहिर निस्किएका बखत लुटपाट गरिएको वडाध्यक्ष नारायणप्रसाद चेम्जोङ लिम्बूले बताए ।

यसैबीच, घटनापछि आज बिहान प्रहरीलाई घटनाबारे जानकारी दिएकी उर्मिला दिउँसो पुनः अचेत भएको वडाध्यक्ष लिम्बूको भनाइ छ । अचेत भएकी उर्मिलाको उपचार स्थानीय अस्पतालमा सम्भव नभएपछि सुविधायुक्त अस्पतालमा पठाइएको पनि वडाध्यक्ष लिम्बूले जानकारी दिए । महिलामाथि कुनै भौतिक आक्रमण भने नभएको बताउँदै प्रहरीले घटनामा संलग्नहरुको खोजी तिव्र पारिएको जनाएको छ ।