इटहरीः मोरङको केराबारी गाउँपालिका ७ स्थित नर्कटेमा गुण्डाहरुको समूहले विवाह घरमा पुगी घरका सदस्यमाथि आक्रमण गर्दा चार जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा बेहुलीका बुवा ५९ वर्षीय भागीमान, दिदी ३० वर्षीया सविना लिम्बू (राई), कान्छा मामा केराबारी–९ का ४५ वर्षीय भगत याक्खा र बिहेमा बेहुलातर्फबाट जन्ती आएका भोजपुरको भोजपुर नगरपालिका–७ का ३३ वर्षीय रमेश राई रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काले बताए । उनका अनुसार भागीमानकी २३ वर्षीया छोरी सम्झना लिम्बू र नुवाकोटका सुदीप राईबीच विवाह सम्पन्न भई घरमा आएका पाहुनासहित सबै सुतिसकेको अवस्थामा १०र१५ जनाको समूहले घरमा आई आक्रमण गर्दा उनीहरु घाइते भएका हुन् । घाइते सबैको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार जारी रहेको एसपी खड्काको भनाइ छ ।
घाइतेमध्ये बेहुलीका बुबा भागीमान र मामा भगतको अवस्था गम्भीर रहेको उनले बताए । आक्रमणकारीहरुले भाला, खुकुरीलगायत अन्य घरेलु हतियार प्रहार गर्दा टाउको, हात, खुट्टा, अनुहारलगायत शरीरका विभिन्न भागमा चोट लागी उनीहरुको अवस्था गम्भीर बनेको हो । शुक्रबार विवाह सम्पन्न भएको सोही दिन राति साउन्ड सिस्टम बजाउन पाउनुपर्ने भन्दै आएका केही युवाहरुलाई सम्झाई बुझाई फिर्ता पठाएकोमा पुनः होहल्ला गरेपछि प्रहरी परिचालित भई फरार भएका युवाहरुले नै शनिबार बिहान ३ बजे हातहतियारसहित घरमा प्रवेश गरी आक्रमण गरेको वडाध्यक्ष नारायणप्रसाद चेम्जोङ लिम्बूले बताए । आक्रमण भएपछि घरका अन्य सदस्यले भने भागेर ज्यान जोगाएको उनको भनाइ छ ।
घटनाको प्रकृति हेर्दा पुरानो रिस साध्ने उद्देश्यले आक्रमण गरिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । यद्धपि, पीडित परिवारले भने आक्रमणकारीसँग कुनै वैमनश्य नरहेको जिकिर गरेको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले केराबारी–७ का २८ वर्षीय मुस्कान चेम्जोङ लिम्बू, २५ वर्षीय निशान चेम्जोङ लिम्बू, ३० वर्षीय विश्वास लिम्बू, केराबारी–८ का २२ वर्षीय भाइराजा लिम्बू लगायतका व्यक्तिको खोजी गरिरहेको जानकारी दिएको छ । यसैबीच, आक्रमणकारीहरुले विवाह घरबाट बेहुलीको नाममा जम्मा भएको दुई लाख ३५ हजार पाँच सय ४० रुपैयाँ नगद र बेहुलीले लगाएका करिब ५ तोला सुन र चाँदीका गरगहना गरी ६ लाख रुपैयाँ बराबरको धनमाल लुटपाटसमेत गरेको प्रहरीले जनाएको छ ।