इटहरीः खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय इनरुवाले इटहरीबाट सुरु गरेको होटलको अनुगमन आइतबारबाट धरानमा सुरु गरेको छ ।

सुनसरीमा सञ्चालनमा रहेका होटलहरुको खाद्य स्वच्छताका आधारमा होटल अनुगमन सुरु गरेको हो । खाद्य प्रविधिले धरान उपमहानगरको समन्वयमा आइतबार र सोमबार धरानमा सञ्चालनमा रहेका होटलहरुको अनुगमन गरेर स्तर निर्धारण गर्नेछ । विभिन्न ५० ओटा मापदण्ड निर्धारण गरी हरेक मापदण्डका लागि २ नम्बर प्रदान गर्दै होटलहरुलाई चार वर्गमा विभाजन गरिएको छ । पहिलो अर्थात् ‘क’ वर्गमा अतिउत्तम, ‘ख’ वर्गमा उत्तम, ‘ग’ वर्गमा सन्तोषजनक र ‘घ’ वर्गमा सामान्य तथा सुधार गर्नुपर्ने होटलहरुलाई राखिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय इनरुवाका प्रमुख काशीनाथ घिमिरेले जानकारी दिए ।

anugaman dharan

 

उनका अनुसार एक पटक स्तर निर्धारण भएको होटलले एक वर्षसम्म मान्यता पाउने छन् । तर, सन्तोषजनक र सामान्य तथा सुधार गर्नुपर्ने होटलहरुले केही दिनमा सुधारको लागि जानकारी गराउन सक्ने घिमिरेको भनाइ छ । साथै सुधार भएका होटलहरुको पनि विभिन्न समयमा पुनः निरीक्षण गरिने उनको भनाइ छ । सरकारी निकायबाट भएको अनुगमनलाई होटल व्यवसायीहरुले पनि स्वभाविक रुपमा लिएको उनले जानकारी दिएका छन् । यसरी हुने अनुगमनले होटल सञ्चालकका साथै ग्राहकहरुलाई पनि फाइदा हुने धरानको भोटेपुलमा सञ्चालित होटल गजुर प्यालेसकी सि.इ.ओ रन्जना झाले बताइन् ।

hotel

यस्ता कार्याक्रमहरु समय–समयमा हुनुपर्नेमा उनले जोड दिइन् । आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षक गन्तव्यका रुपमा रहेको धरानमा होटल तथा पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका लागि धरान उपमहानगरले पनि सहयोग गरिरहेको छ । होटल सञ्चालक तथा कर्मचारीलाई तालिमको व्यवस्थासँगै आवश्यक सहजीकरण गर्दै आएको धरान उपमहानगरपालिकाकी उप–प्रमुख मञ्जु भण्डारी (सुवेदी) ले जानकारी दिइन् । उनले धरानको आन्तरिक पर्यटन प्रवद्र्धनमा होटलहरुले अतुलनीय योगदान गरेको बताइन् । त्यसैले होटलको शुद्धता र स्वच्छताका लागि उपमहानगरले सहयोग गरिरहेको उनको भनाइ ।