इटहरीः ११ वर्षीया बालिकालाई जबर्जस्ति करणी गरी फरार रहेका एक जना अभियुक्तलाई मोरङ प्रहरीले आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको जहदा गाउँपालिका १ का बोज भनिने राजेन्द्र सरबरिया रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोषि खड्काले बताए । उनका अनुसार अभियुक्त सरबरियाले गत फागुन ६ गते मकैबारीमा लगी बालिकालाई बलात्कार गरी फरार भएका थिए ।

बलात्कारको घटना थाहा पाएकी सोही गाउँपालिका घर भएकी ३८ वर्षीया पार्वतिदेवी मुखियाले फागुन १३ गते दर्ता गराएको किटानी जाहेरीका आधारमा प्रहरीले अभियुक्त सरबरियालाई पक्राउ गरेको हो । पक्राउ परेका अभियुक्त सरबरियालाई इलाका प्रहरी कार्यालय रानीमा राखी जबर्जस्ति करणी मुद्दामा कारबाहीका लागि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।