इटहरीः मोरङको उर्लाबारी नगरपालिका ५ का प्रवीण बास्तोलाको हत्या आरोपमा मुद्दा दायर गरिएका एक फरार प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा उर्लाबारी ६ फिल्म हलछेउका ६० वर्षीय रमेश गिरी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काले बताए । उनका अनुसार बास्तोलाको शव गिरीकै घरमा फेला परेको थियो । यस घटनामा सरकारी वकिलको कार्यालयले ६ जनाविरूद्ध ‘कर्तव्य ज्यान’ मुद्दामा अदालतमा अभियोग दर्ता गरेको छ । सरकारी वकिलको कार्यालयले मोरङ अदालतमा पक्राउ परेका दुई जना र फरार भएका चारसहित ६ जनाविरूद्ध कर्तव्य ज्यान मुद्दामा अभियोग दर्ता गरेकोमा फरारमध्येका गिरी पक्राउ परेका हुन् । प्रहरीले पक्राउ गरेको होटल सञ्चालक उर्लाबारी नगरपालिका ९ का ३४ वर्षीय कुमार राई र प्रवीणका साथी मोरङ्गको रतुवामाई नगरपालिका – १० पवित्रा चोकका २९ वर्षीय रिकेश सिवा भन्ने मेहरमान दर्जीका साथै रमेश गिरीसहित अन्य तीन जनालाई फरार प्रतिवादी बनाएर फागुन ११ गते अभियोग दर्ता गरेको जिल्ला सरकारी वकिलको कार्यालयका जिल्ला न्यायाधिवक्ता मनोजकुमार आचार्यले जानकारी दिए ।
सोही मुद्दामा प्रवीणका साथीहरू उर्लाबारी नगरपालिका ६ प्रगति टोलका १९ वर्षीय सुदीप परियार, सोही ठाउँका ३२ वर्षीय राजेश रणपहेली र झापाको गौरादह नगरपालिका ९ का ३१ वर्षीय दिपेश पौडेललाई फरार प्रतिवादी बनाएर अभियोग दर्ता गरेको हो । मुद्दा चलाइएकामध्ये चार जना यातायात मजदुर हुन् । उनीहरू प्रवीणका साथी रहेका छन् । आज पक्राउ परेका गिरीलाई प्रहरीले आज थुनछेक बहसका लागि अदालतमा उपस्थित गराउँदैछ । यसअघि नै पक्राउ परेका होटल सञ्चालक राई र दर्जीको बयान गत फागुन १२ गते नै सम्पन्न भइसकेको छ । गत पुस ४ गते साथीको डेरामा बसेका प्रवीण ५ गते बिहान मृत फेला परेका थिए । आफ्ना छोराको मृत्यु भइसकेपछि उपचारको बहानामा अस्पताल लगिएको बताउँदै हत्याको आशंकामा प्रवीणका बुबा प्रेम बास्तोलाले पुस ९ गते प्रहरीमा जाहेरी दिएका थिए । जाहेरीका आधारमा पुस ११ गते ६ जना आरोपीहरुलाई पक्राउ गरेको प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयको आदेशमा माघ २ सबै आरोपीहरुलाई जिम्मा जमानीमा रिहा गरिदिएको थियो ।
यसै क्रममा मृतक प्रवीणकी बहिनी सदिक्षाले मुद्दाको प्रगतिबारे प्रहरी कार्यालयमा बुझ्न जाँदा घटनाको प्रहरी मुचुल्कामा प्रवीणजस्तै देखिने अर्कै व्यक्तिको फोटो टाँस गरिएको रहस्य खुलेको थियो, जसलाई प्रहरीले पनि त्रुटि भएकै हो भनी स्वीकार गरेको थियो । मुद्दालाई कमजोर बनाई अभियुक्तलाई बचाउने बदनियतका साथ इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक उद्धव पोख्रेलले जानाजान मृतकको फोटो परिवर्तन गरेको मृतकका आफन्त तथा स्थानीयहरुको आरोपका बीच चौतर्फी दबाबका कारण अभियुक्तहरुमाथि मुद्दा दर्ता भई कारबाही अगाडि बढेको हो । पुस ४ गते प्रवीणसँग विवाद गर्ने होटल सञ्चालक कुमार राई अदालतको आदेशपछि तीन लाख धरौटी बुझाएर छुटेका छन् । उनीसँगै कोठामा बसेका मेहरमान दर्जी पुर्पक्षका लागि कारागार चलान भएका छन् । हिजो पक्राउ परेका गिरी कारागार चलान हुने वा नहुने अदालतको आदेशले निर्धारण गर्नेछ ।अन्य तीन फरार आरोपीहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।