इटहरीः मोरङ र झापाको सीमावर्ति मावा खोलामा आज दिउँसो बालुवा लोड गर्ने क्रममा ट्याक्टर पल्टिँदा एक जना मजदुरको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा रतुवामाई नगरपालिका–८ का ५१ वर्षीय गौरीमान खड्का रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) मानबहादुर राईले बताए । बालुवा लोड गरिरहेको समयमा दिउँसो करिब १ बजे ट्याक्टरको एउटा चक्का भास्सिएपछि पल्टिएको ट्रलीले किच्दा उनको घटनास्थलमै ज्यान गएको प्रवक्ता राईको भनाइ छ । घटनालगत्तै घटनास्थलमा परिचालित प्रहरीले दुर्घटनाग्रस्त प्रदेश १–०४–०१ त १२० नम्बरको ट्याक्टरका चालक उर्लाबारी–९ का २८ वर्षीय रामबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएको बताउँदै राईले घटनाको विस्तृत अनुसन्धान जारी रहेको जानकारी दिए ।