झापाः गरिब तथा आदिवासी नागरिकका लागि झापाको बिर्तामोडमा निर्माण गरिएको आवासगृहको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।

‘प्रदेश गौरव भिलेज’ नाम दिइएको सो ‘भिलेज’मा ३७ आवासगृह छन् । भद्रपुरका धनजुजु श्रेष्ठ र कमला श्रेष्ठले निःशुल्क प्रदान गरेको एक बिघा तीन कठ्ठा जग्गामा ती घर निर्माण गरिएको हो । प्रदेश नम्बर १ सरकार, बिर्तामोड नगरपालिका, ह्याबिटाट नेपाल र सहारा नेपालको १४ करोड ८० लाख रुपैयाँ लागतमा ग्राम निर्माण गरिएको हो । नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले सो बस्तीमा अति विपन्न कुर्मी र सन्थाल समुदायका परिवारलाई बसोबास गराइएको जानकारी दिए ।

हालसम्म नगरपालिकाभित्र तीन सय ६ घर निर्माण गरेर विपन्न समुदायलाई हस्तान्तरण गरिसकिएको उनले जानकारी दिए । चालु आर्थिक वर्षमा पाँच सय घर निर्माण गरेर हस्तान्तरण गर्ने योजना रहेको पनि उनले बताए । -रासस