इटहरीः मोरङको सुनवर्षी गाउँपालिकामा एक भारतीय युवतिको माटोको ढिस्कोले पुरिएर घटनास्थलमै ज्यान गएको छ ।
ज्यान गुमाउनेमा भारतको दरभङ्गा घर भई सुनवर्षी नगरपालिका–४ गान्धीआश्रमस्थित मामाघर आएकी २० वर्षीया वन्सुबिया यादव रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) मानबहादुर राईले बताए । उनका अनुसार तीन चार जना मिलेर सुनवर्षी नगरपालिका–१ कालाबञ्जारस्थित डाँस खोलाको बगरमा माटो खन्न गएकोमा दिउँसो करिब २ बजे ढिस्कोले पुरेपछि यादवको ज्यान जानुका साथै सुनवर्षी–४ की ९ वर्षीया बालिका मनिका यादव र ५५ वर्षीया महिला झोलिया यादव घाइते भएका छन् । उनीहरुको रंगेली अस्पतालमा उपचार जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक युवतिको शव पनि पोस्टमार्टमका लागि रङ्गेली अस्पताल नै लगिएको थियो ।