विराटनगरः पुस ५ गते मोरङको उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रविन बास्तोलाको शव स्थानीय गोदाबरी अस्पतालमा फेला प¥यो ।
परिवारले हत्या नै भएको दाबी ग¥यो । इलाका प्रहरी कार्यालय उर्लाबारीमा किटानी जाहेरी दिए । तर, प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनलाई आधार बनाएर बास्तोला मृत्यु प्रकरण सम्बन्धी मुद्दा सरकारी वकिल कार्यालयले अदालत लगेन । सरकारी वकिल कार्यालयले अनुसन्धान प्रतिवेदन (मिसिल) अनुसार अदालतमा मुद्दा दर्ता नगरी पक्राउ परेका एक आरोपीलाई माघ २ गते हाजिरी जमानीमा छाड्न निर्देशन दियो । मुद्दा अदालत नपुगेपछि परिवार बिलखबन्दमा प¥यो । मृतककी बहिनी सदीक्षा बास्तोला अमेरिकामा बस्थिन् । उनले दाजुको मृत्युको खबर पाइन् । पहिले विश्वास नै भएन । अमेरिकामा पाइलट कोर्ष गरिरहेकी थिइन् । मुद्दा अघि नबढेको विषयले उनको मन पोल्यो । हवाई जहाजको टिकट काटिन् । सोझै काठमाडौं उत्रिइन् । अनि उर्लाबारी पुगिन् । जसरी पनि न्याय पाउनु थियो । आत्मविश्वासमा अडिग थिइन्, सदीक्षा ।
प्रहरी कार्यालय धाउनु र अनुसन्धान प्रगतिबारे बुझ्नु उनको दैनिकीजस्तै बन्यो । तर, जब सदीक्षाले प्रहरीले मृत्युसम्बन्धी तयार गरेको मिसिलमा आफ्नो दाजुको नभएर अरु कसैको फोटो देखिन्, छक्क परिन् । उनले तत्कालै फेसबुकमार्फत सबै विषय लाइभमा आएर सार्वजनिक गरिदिइन् । फोटो साटफेर भएको विषयमा पछि नेपाल प्रहरीका एसपी तथा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख सन्तोष खड्काले प्रहरीको गल्ती भएको विराटनगरमा पत्रकार सम्मेलन गरेर स्वीकार गरे । तर, मृतकको परिचय नै बदलिने नभएको बरु पहिल्यैदेखि प्रहरीले कर्तव्य ज्यान मुद्दा नै अघि बढाएकाले ‘बद्नियतपूर्ण’ तवरले काम गरेको भन्ने आरोप मिथ्या मात्र भएको दाबी गरे ।
सामाजिक सञ्जालबाट दबाब
हक्की स्वभावकी सदीक्षाले न्यायका लागि आफन्त र छरछिमेकीको पनि दह्रो साथ पाइन् । फोटो फरक परेको थाहा पाएका स्थानीयले सदीक्षालाई साथ दिँदै उर्लाबारी प्रहरी कार्यालय घेराउ गरे । प्रदेश १ को राजधानी विराटनगरस्थित सरकारी वकिल कार्यालय र जिल्ला प्रशासन कार्यालयसम्म पुगेर न्याय मागे । उनले आफ्नो माग सामाजिक सञ्जालमार्फत आम नागरिक र देशविदेशका नेपालीलाई जानकारी गराउन छाडिनन् । यो प्रयासले अनलाइन मिडिया, रेडियो, टेलिभिजन, पत्रपत्रिका र युट्युब च्यानलदेखि टिकटकसम्ममा वाहवाही मिल्यो । सहानुभूूति र न्यायको माग बढ्यो ।
प्रहरी र प्रशासनलाई पनि दबाब प¥यो । तर, यो लडाईं न्यायको लागि थियो । यसमा राजनीति नगर्न आग्रह गर्दै सदीक्षाले भनिन्,“कतिपय व्यक्तिले अहिलेको यो विषयलाई राजनीतिकरण गर्न खोज्नु भएको पनि सुनिन थालेको छ । हामी न्यायका लागि लडेका हौं । कसैले राजनीति गर्न खोजे उसकैविरुद्ध मुद्दा हाल्छु ।” न्यायको लागि आफूलाई आफन्त र न्यायप्रेमी स्थानीयको ठूलो सहयोग मिलेको उनले बताएकी छन् । सामाजिक सञ्जालको सही प्रयोग गर्दा यसले सकारात्मक सहयोग मिल्नेसमेत यो घटनामा देखिएको उर्लाबारीका स्थानीय पत्रकार तेजन खड्काले बताएका छन् । उनले भने, “सामाजिक सञ्जालको सही सदुपयोग गर्दा न्यायको ढोकासमेत खुल्ने रहेछ भन्ने परिदृश्य यो घटनाले उजागर गरिदिएको छ ।”
घटना यसरी भयो
मोरङ प्रहरीका अनुसार उर्लाबारी–४ का रमेश गिरीको घरमा डेरा बस्ने रिकेश शिवा भनिने मेहरमान दर्जीले बास्तोलालाई टेलिफोन गरेर बोलाएका थिए । त्यसको भोलिपल्ट बास्तोलाको शव अस्पतालमा भेटिएको थियो । शिवासहित राजेश रणपहेली र दिपेश पौडेलेले बसपार्क नजिकको सौरभी होटलमा सँगै मदिरापान गरेका थिए । बास्तोला शिवाको डेरामा सुत्न गए । राति नै मृत्यु भयो । परिवारले त्यसबारे पुस ५ गते बिहान ११ मात्र थाहा पाए । बास्तोलाको शव धरानस्थित बीपी प्रतिष्ठानमा शल्यपरीक्षण गरिएको थियो । त्यसमा निसास्सिएर मृत्यु भएको भन्ने रिर्पोट आएको छ ।
एसपी खड्काका अनुसार उर्लाबारी ६ का राजेश रणपहेली, दीपेश पौडेल, सुदीप परियार, मेहरमान दर्जी, कुमार राई र रमेश गिरीविरुद्ध अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ । घटनाको सम्बन्धमा परिवारबाट पुस ९ गते इप्रका उर्लाबारीमा किटानी जाहेरी परेको थियो । रणपहेली पक्राउ परेका थिए । तर, माघ २ गते सरकारी वकिलको कार्यालयको निर्देशनपछि हाजिरी जमानीमा छुटे । प्रहरीले फेरि मुद्दा दर्ता गराएको छ ।
अहिले के हुँदैछ ?
मोरङ जिल्ला अदालतले घटनामा संलग्न भएको आरोपमा पक्राउ परेकामध्ये थप एक जनलाई मंगलबार पूर्पक्षमा पठाउन आदेश दिएको छ । न्यायाधीश सुदर्शन लामिछानेको एकल इजलासले वर्षीय सुदीप परियारलाई पूर्पक्षमा पठाउन आदेश दिएको हो । परियारलाई कानेपोखरी गाउँपालिका–७ रमाइलोबाट सोमबार राति पक्राउ गरी मंगलबार अदालतमा उपस्थित गराइएको थियो । बास्तोला मृत्य प्रकरणमा प्रहरीले ६ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर गरेको छ । घटनामा संलग्न भएको आरोप लागेका उर्लाबारी–६ का राजेश रणपहेली र दीपेश पौडेल फरार छन् । दुवैको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी सन्तोष खड्काले जानकारी दिएका छन् ।
चारजना पक्राउ परेकोमा परियार र उर्लाबारी–६ का मेहरमान दर्जीलाई पूर्पक्षमा मोरङ कारागार पठाइएको हो । अदालतको आदेशपछि कुमार राई तीनलाख र रमेश गिरी एक लाख धरौटीमा छुटेका छन् । परिवारले सत्यतथ्य छानबिन भइ घटनामा संलग्न भएकाहरुलाई सजाय हुनेमा आशा बढेको बताएको छ । सदीक्षा भन्छिन्, “कमजोरी गर्ने प्रहरी अधिकृतलाई पनि कारवाही होस् । हामीले न्याय पाउनु पर्छ ।” उनले न्याय मागिएको घटनामा राजनीतिक गन्ध मिसाउन नपाइने बताइन् । -बाह्रखरीबाट