फुङ्लिङः ताप्लेजुङको फुङ्लिङ बजारमा विभिन्न समयमा ठूला–ठूला आगलागीका घटना दोहोरिरहने क्रम विगतदेखि नै चलिरहेको छ ।
पछिल्लो १७ वर्षमा आगलागीबाट ३९३ परिवार विस्थापित हुन पुगेको र १५२ घर जलेर नष्ट भएको तथ्यांक छ । वि.सं. २०६० चैत १५ गते वीरेन्द्रचोक क्षेत्रमा भएको आगलागीमा ४५ घर जलेर नष्ट हुँदा १२९ परिवार विस्थापित भएका थिए । वि.सं. २०६९ माघ २६ गते शेर्पाटोलमा आगलागीबाट आठ घर जलेर नष्ट हुँदा १८ परिवार विस्थापित भएको तथ्यांक छ । वि.सं. २०७० कात्तिक १८ टुक्रेबजार क्षेत्रमा आगलागीबाट पाँच घर नष्ट हुँदा १७ परिवार विस्थापित भएका थिए ।
त्यसैगरी, वि.सं. २०७१ चैत ९ गते फुङलिङ–४, तोक्मेडाँडा क्षेत्रमा आगलागी हुँदा ३७ घर जलेर नष्ट भएका थिए । उक्त घटनामा १४५ परिवार विस्थापित भएका थिए । वि.सं. २०७७ वैशाख १९ गते पुरानो बैंक लाइन, ट्याक्सी काउन्टर क्षेत्रमा आगलागीबाट सात घर नष्ट हँुदा २९ परिवार विस्थापित भएका थिए । त्यसैगरी, मंगलबार ताप्लेजुङको दोस्रो ठूलो बजार दोभानमा आगलागीबाट ४९ घर नष्ट भएका छन् भने ५५ परिवार विस्थापित हुन पुगेको जनाइएको छ । -रासस