इटहरीः ताप्लेजुङ्गको मेरिङदेन–३ दोभानका आगलागी पीडितलाई प्रदेश सरकारले राहत सामग्री उपलब्ध गराएको छ ।
आज आगलागी बस्तिमा पुगेर प्रदेश नं १ सरकारका मुख्यमन्त्री शेरधन राईले राहत सामाग्री उपलब्ध गराउनुका साथै पीडितलाई थप राहत प्याकेजसमेत घोषणा गरेका छन् । आगलागीपीडित परिवारलाई प्रदेश सरकारले प्रतिपरिवार ५० हजार नगद उपलब्ध गराउने मुख्यमन्त्री राईले दोभान बस्तिमा पुगेर बताएका हुन् । त्यस्त,ै डेराभाडामा बस्दै आएका परिवारलाई प्रतिपरिवार ३० हजार नगद उपलब्ध गराउने मुख्यमन्त्री राईले जानकारी दिए । आगलागी पीडितहरुको अवस्था बुझ्न घटनास्थल पुगेका मुख्यमन्त्री राईले पीडितहरुको माग अनुसार ग्यास सिलिन्डर, चुलो र प्रेसर कुकरसमेत उपलब्ध गराउने जानकारी दिए ।
मुख्यमन्त्री राईले संघीय सरकारसँग समन्वय गरेर पीडित परिवारलाई थप सहयोग गर्न प्रदेश सरकार लागिपरेको बताए । प्रदेश सरकारका तर्फबाट पीडित परिवारलाई तत्कालका लागि एक हजार आठ सय केजी चामल, दुई सय ५० केजी दाल, नुन, तेल लगायतका खाद्यान्न र म्याट्रेस लगायतका सामग्री मुख्यमन्त्री राईले पिडित परिवारलाई हस्तान्तरण गरे । आगलागीमा परी घाइते भएका मेरिङदेन–३ दोभानका भोला पौडेललाई मुख्यमन्त्री राईको टोलीले थप उपचारका लागि काठमाडौँ पठाएको छ । मुख्यमन्त्री राईका साथमा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, प्रदेशसभा सदस्य टंक आङबुहाङ, प्रताप प्रकाश हाङगामलगायत आगलागी बस्ति पुगेका थिए ।