इटहरीः सरकारसँग तीनबुँदे सहमति गरी नेत्रविक्रम चन्द (विप्लप) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी आजबाट खुला राजनीतिमा आएको छ ।

दुुवै पक्षले देशका राजनीतिक समस्या वार्ता र संवादबाट समाधान गर्ने, विप्लव नेतृत्वको नेकपाले आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा गर्ने र नेपाल सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध हटाउने र कार्यकर्ताको रिहाइ र सबै मुद्दा खारेज गर्नेगरी आज सरकारसँग औपचारिक सहमति भएपछि प्रतिबन्धित नेकपा खुला राजनीतिमा आएको हो । सहमतिपछि विप्लप समूहमाथि लागेको प्रतिबन्ध फुकुवा भएको छ भने पक्राउ परेका कार्यकर्ताको रिहाइको प्रत्याभूति सरकारले गरेको छ । सामन्ति राज्यसत्ताविरुद्ध संघर्ष गरी जनउत्तरदायी शासन स्थापनाको लागि हतियार उठाएको शक्ति सरकारसँग सहमति गरी खुला राजनीतिमा आएपनि संघर्षका नाममा सो समूहले मच्चाएको रक्तपातबाट पीडित जनतामा भने न्याय नपाइने त्रास उत्पन्न भएको छ ।

राज्यविरुद्ध संघर्षका नाममा देशको भौतिक पूर्वाधारमा क्षति पुर्याउनुका साथै आर्थिक उन्नतिमा व्यवधान खडा गरी देशलाई दरिद्रताको खाडलमा धकेलेको शक्ति राज्यकोषकै खर्चमा सुरक्षालगायत अन्य सेवा सुविधा पाउने स्थानमा पुग्दा सो समूहका गतिविधिबाट पीडित जनताले घाउमा नुनचुक छर्किइएको अनुभव गर्न थालेका छन् । उद्योगपति दुर्गा प्रसाईँलाई मेडिकल माफियाको संज्ञा दिँदै विप्लवका छोरा प्रकाश चन्दले कारबाहीको धम्की दिएको केही महिना नबित्दै विप्लव समूह आफैँ सरकारसँग सहमति गर्न पुग्नु र उद्योगपति प्रसाईँले समेत सरकारको संरक्षण प्राप्त गरेबाट परस्पर विरोधी यी दुवै शक्तिको एउटै अभीष्ट आत्मपोषण मात्र रहेको विश्लेषण हुन थालेको छ । विप्लव समूहको संघर्षकै क्रममा निर्ममतापूर्वक सो समूहका कार्यकर्ताद्वारा हत्या गरिएका मोरङको मिक्लाजुङ गाउँपालिकास्थित सरस्वति आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको परिवारलाई सरकारसँग विप्लप समूहको सहमतिले आफूहरुको न्याय पाउने अधिकार कुण्ठित हुने खतरा अनुभव हुन थालेको छ ।

मृतक शिक्षक श्रेष्ठकी श्रीमति धनकुमारी श्रेष्ठले श्रीमानको हत्या भएको तीन महिनासम्म पनि अपराधीले सजाय नपाएकोमा दुःख व्यक्त गरेकी छन् । सरकारले अपराधीलाई कानुनी दायरामा ल्याउनेतर्फ कुनै कदम नचालेको उनको गुनासो छ । उनी आफ्ना श्रीमानको हत्यामा संलग्न आरोपीहरुलाई हदैसम्मको सजाय गर्नुका साथै आफ्ना श्रीमानलाई सरकारले शहीद घोषणा गर्नुपर्ने माग राख्छिन् । सरकारले सुरक्षाको प्रत्याभूति दिन नसकेका कारण गाउँबाट विस्थापित हुनुपरेको उनले बताइन् । श्रीमानको हत्यापछि धनकुमारी अहिले छोरा छत्रबहादुर र बुहारी अनुसँग बस्दै आएकी छन् । छत्रबहादुर पनि सरकारले पीडकलाई कानुनको कठघरामा ल्याई आफूहरुलाई न्याय दिनुपर्ने माग गर्छन् । आफ्ना पिताका हत्यारालाई सरकारले कुनै पनि बहानामा उन्मुक्ति दिए आफूलाई सह्य नहुने उनको भनाइ छ ।

श्रेष्ठको हत्या प्रकरणमा मुद्दा चलाइएका अभियुक्तहरुमध्ये हालसम्म धनबहादुर विश्वकर्मा मात्र पक्राउ परेका छन् । अन्य आरोपीहरु हालसम्म प्रहरीको पकडमा आएका छैनन् । श्रेष्ठको हत्यामा प्रतिवादी बनाइएका नेत्रविक्रम चन्द विप्लव र खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहित पक्राउ परेका अन्य कार्यकर्ताहरुलाई समेत रिहा गर्ने सहमति गरेको सरकारले हत्यारालाई कारबाही नगरी राजनीतिक मुद्दाका नाममा उन्मुक्ति दिनसक्ने खतरा देखिएको छ ।