इटहरीः मोरङको उर्लाबारी नगरपालिका ५ का ३२ वर्षीय प्रवीण बास्तोलाको हत्यामा संलग्न रहेको आरोपमा मुद्दा चलाइएका फरार अभियुक्तहरु धमाधम पक्राउ पर्न थालेका छन् ।

फरार रहेकामध्ये पछिल्लो पटक उर्लाबारी–६ का ३२ वर्षीय राजेश रणपहेली र झापाको गौरादह नगरपलिक–९ का ३१ वर्षीय दीपेश पौडेललाई प्रहरीले हिजो साँझ पक्राउ गरेको छ । दुवै अभियुक्तहरुलाई रुपन्देहीको सदरमुकाम भैरहवाबाट नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक कुन्दन देवले बताए । उनका अनुसार अभियुक्तहरुलाई मोरङ जिल्ला प्रहरी कार्यालय विराटनगर झिकाउने प्रहरीको तयारी छ । घटनामा संलग्न भएको आरोपमा यसअघि बास्तोलाको शव भेटिएको घरका मालिक उर्लाबारी ६ फिल्म हलछेउका ६० वर्षीय रमेश गिरीलाई प्रहरीले गत आइतबार पक्राउ गरेको थियो । पक्राउ परेको भोलिपल्टै अदालतको आदेशमा एक लाख रुपैयाँ धरौटीमा अभियुक्त गिरीलाई प्रहरीले रिहा गरेको थियो । थुनछेक बहसका लागि जिल्ला अदालत लगिएका अभियुक्त गिरीलाई जिल्ला न्यायाधीश सुदर्शन लामिछानेको एकल इजलासले एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश जारी गरेको अदालतका श्रेस्तेदार राजकुमार दाहालले बताए ।

मृतक बास्तोलाको शव गिरीकै घरमा फेला परेको आधारमा उनलाई प्रहरीले पक्राउ गरेकोमा थुनछेक बहसपछि अदालतको आदेशमा गिरीलाई रिहा गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काले बताए । प्रहरीले गिरीलाई रिहा गरेकै दिन अर्थात् गत सोमबार राति अर्का अभियुक्त कानेपोखरी घर भई उर्लाबारी बस्ने १९ वर्षीय सुदीप परियारलाई पनि पक्राउ गरेको थियो । सुदीप मोरङको कानेपोखरी गाउँपालिका–७ रमाइलोबाट पक्राउ परेका थिए । प्रवीणको हत्याको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालय मोरङले होटल सञ्चालक उर्लाबारी नगरपालिका ९ का ३४ वर्षीय कुमार राई, शव भेटिएका घरका मालिक रमेश गिरी, प्रवीणका साथीहरू मोरङ्गको रतुवामाई नगरपालिका – १० पवित्रा चोकका २९ वर्षीय रिकेश सिवा भन्ने मेहरमान दर्जी,उर्लाबारी नगरपालिका ६ प्रगति टोलका १९ वर्षीय सुदीप परियार, सोही ठाउँका ३२ वर्षीय राजेश रणपहेली र झापाको गौरादह नगरपालिका ९ का ३१ वर्षीय दिपेश पौडेलमाथि फागुन ११ गते कर्तव्य ज्यान अभियोग दर्ता गरेको जिल्ला सरकारी वकिल कार्यालय मोरङका जिल्ला न्यायाधिवक्ता मनोजकुमार आचार्यले बताए ।

फरार दुई अभियुक्त शुक्रबार साँझ पक्राउ परेसँगै सबै अभियुक्त प्रहरीको निगरानीमा परिसकेका छन् । यद्यपि, अदालतको आदेशमा अभियुक्तहरुमध्ये घटनामा संलग्नमध्ये प्रवीणसँग विवाद गर्ने होटल सञ्चालक कुमार राई तीन लाख रुपैयाँ तथा घरका मालिक गिरी एक लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । प्रवीणसँगै कोठामा सुतेका मेहरमान दर्जी भने पुर्पक्षका लागि कारागारमा रहेको प्रहरीले जनाएको छ । गत पुस ४ गते साथीको डेरामा बसेका प्रवीण ५ गते बिहान मृत फेला परेका थिए । आफ्ना छोराको मृत्यु भइसकेपछि उपचारको बहानामा अस्पताल लगिएको बताउँदै हत्याको आशंकामा प्रवीणका बुबा प्रेम बास्तोलाले पुस ९ गते प्रहरीमा जाहेरी दिएका थिए । जाहेरीका आधारमा पुस ११ गते ६ जना आरोपीहरुलाई पक्राउ गरेको प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयको आदेशमा माघ २ सबै आरोपीहरुलाई जिम्मा जमानीमा रिहा गरिदिएको थियो ।

यसै क्रममा मृतक प्रवीणकी बहिनी सदिक्षाले मुद्दाको प्रगतिबारे प्रहरी कार्यालयमा बुझ्न जाँदा घटनाको प्रहरी मुचुल्कामा प्रवीणजस्तै देखिने अर्कै व्यक्तिको फोटो टाँस गरिएको रहस्य खुलेको थियो, जसलाई प्रहरीले पनि त्रुटि भएकै हो भनी स्वीकार गरेको थियो । मुद्दालाई कमजोर बनाई अभियुक्तलाई बचाउने बदनियतका साथ इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक उद्धव पोख्रेलले जानाजान मृतकको फोटो परिवर्तन गरेको मृतकका आफन्त तथा स्थानीयहरुको आरोपका बीच चौतर्फी दबाबका कारण अभियुक्तहरुमाथि मुद्दा दर्ता भई कारबाही अगाडि बढेको हो ।

यसैबीच, मृतक प्रवीणको फोटो परिवर्तन गरी प्रहरी मुचुल्कामा अर्कै व्यक्तिको फोटो टाँस गरेको आरोप लागेका इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक उद्धव पोख्रेललाई जिल्ला प्रहरी कार्यालय पठाइएको छ । उनको ठाउँमा प्रहरी निरीक्षक कुन्दन देवले जिम्मेवारी सम्हालेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) मानबहादुर राईको नेतृत्वमा गठित छानबिन समितिले मानवीय त्रुटिका कारण फोटो परिवर्तन भएको राय दिएपछि लापरबाहीको आरोप लागेका प्रहरी निरीक्षक पोख्रेललाई जिल्ला प्रहरी कार्यालयले तानेको हो । उनलाई बयानका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा हाजिर गराइएको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी सन्तोष खड्काले बताए । छानबिन समितिबाट बयान लिनुपर्ने भएकाले पोख्रेललाई जिप्रका बोलाइएको भन्दै एसपी खड्काले उनी दोषी पाइए कारबाही गरिने र निर्दोष देखिए पुरानै जिम्मेवारीमा फर्काइने बताए ।