भरतपुरः पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि नारायणगढ–मुग्लिन सडकखण्ड एक हप्ता दिउँसो बन्द गरिने भएको छ ।

आजदेखि २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै सडकखण्डअन्तर्गत चार किलोमा पहिरो रोकथामका आवश्यक बाँकी काम सम्पन्न गर्नका लागि सडक बन्द गर्न लागिएको जनाएको छ । सडकखण्डमा बिहान १०ः३० देखि दिउँसो ३ः०० बजेसम्म दुईतर्फी आवागमन बन्द रहने आयोजनाका इन्जिनियर सविना रानाभाटले जानकारी दिइन् ।

उनले अत्यावश्यक सेवाबाहेक सबै सवारी–साधन रोकिने बताइन् । गएको असार पहिलो हप्ता पहिरोले बगाएको क्षेत्रमा काम गरिने रानाभाटले जानकारी दिइन् । सडकखण्डमा ८५ प्रतिशत पहिरो रोकथामको काम सकिएको आयोजनाले जनाएको छ । सो अवधिमा नारायणढतर्फबाट गएका सवारी–साधनलाई जलबिरेमा र मुग्लिनतर्फबाट आएका सवारी–साधनलाई शान्तिबजारमा रोकिनेछ । उक्त अवधिमा वैकल्पिक सडकमार्ग प्रयोग गर्नसमेत नारायणगढ–मुग्लिन सडक आयोजनाले अनुरोध गरेको छ । वैकल्पिक सडक प्रयोग गर्न नमिल्नेहरुले धैर्यधारण गरी लेन अनुशासन पालना गरी ट्राफिक प्रहरी र कर्मचारीको अनुशासन पालन गर्न भनिएको छ । -रासस