इटहरीः मोरङले उर्लाबारी नगरपालिका ५ का ३१ वर्षीय प्रवीण बास्तोलाको हत्यासम्बन्धी मुद्दामा इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक उद्धव पोख्रेलले लापरबाही गरेको भनी मृतकका परिवारले लगाएको आरोप सहि साबित भएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले आज एक पत्रकार सम्मेलन आयोजना गरी गत फागुन ९ गते प्रहरी नायबउपरीक्षक (डीएसपी) मानबहादुर राईको नेतृत्वमा गठन गरेको अनियमितता छानबिन समितिको प्रतिवेदनले बास्तोला हत्या प्रकरणमा अनुसन्धान अधिकृतको लापरबाही प्रमाणित भएको तथ्य सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको प्रतिवेदनमा घटनालाई पारदर्शी नगरिएको र पीडितमैत्री व्यवहार नभएको देखिएकाले सबै पक्षसँग नियमित समन्वय एवम् सम्पर्क र परामर्श गर्नुपर्ने सुझाव समेटिएको छ । यसैगरी, प्रतिवेदनले पोस्टमार्टम एवम् भिसेरा परीक्षणका लागि शव तत्काल पठाएर रिपोर्ट छिटोे प्राप्त गर्ने वातावरण बनाउनुपर्ने, कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गर्न पर्याप्त समय लिने रणनीति बनाउनुपर्ने, जिल्ला न्यायाधिवक्ता (सरकारी वकिल)सँग राम्रो समन्वय गर्नुपर्ने, गम्भीर ढङ्गले अनुसन्धानको मिसिल तयार पार्दै नियमित रुजु तथा प्रमाणित गराउनुपर्ने, सबै प्रकृतिका घटनास्थल तथा शवको पर्याप्त फोटो अनिवार्य लिनुपर्नेलगायतका सुझावहरूसमेत दिएको छ ।

प्रतिवेदनमा घटनासम्बन्धी कागजातहरूको नियमित प्रमाणीकरण तथा अनुसन्धानमा नियमित समन्वय र सम्पर्कमा अनुसन्धान अधिकृतको कमजोरी रहेको उल्लेख छ । अनुसन्धान अधिकृतलाई विभागीय कारबाहीस्वरूप सचेत गराउनुपर्ने समितको सुझाव छ । सोही सुझाव अनुसार मृतक प्रवीणको फोटो परिवर्तन गरी प्रहरी मुचुल्कामा अर्कै व्यक्तिको फोटो टाँस गरेको आरोप लागेका इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक उद्धव पोख्रेललाई जिल्ला प्रहरी कार्यालयमा तानिएको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काले बताए । उनको ठाउँमा प्रहरी निरीक्षक कुन्दन देवलाई इलाका प्रहरी कार्यालय उर्लाबारीको प्रमुखको जिम्मेवारी दिइएको एसपी खड्काको भनाइ छ । उनका अनुसार अनियमितताको आरोप लागेका प्रहरी निरीक्षक पोख्रेलसँग छानबिन समितिले लिएको बयान समेतका आधारमा दोषी पाइएपछि उनलाई विभागीय कारबाहीस्वरुप जिल्ला तानिएको हो ।

uddhav pokhrel .

समितिले छानबिन गर्दा कार्यालयमा राख्ने कपि मिसिलमा गत भदौ ३ गते करेन्ट लागेर मृत्यु भएका मोरङको लेटाङ नगरपालिका–८ घर भई उर्लाबारी–७ मा बस्दै आएका २६ वर्षीय नविनराज घिमिरेको फोटो परेको पत्ता लागेको छ । करेन्टले घाइते भएका घिमिरेको गोदावरी अस्पतालमै उपचारका क्रममा मृत्यु भएको थियो । घटना अनुसन्धानका क्रममा राखिएको उनको फोटो प्रहरी जवानले कम्प्युटरबाट प्रिन्ट गरेर निकाल्दै बास्तोलाको भनेर भुलवश राखेको देखिएको छानबिन प्रतिवेदनमा उल्लेख छ । सक्कली मिसिलमा भने बास्तोलाकै फोटो राखिएको छ । सक्कलमा संलग्न नगरिएका कारण उक्त फोटो बदनियतपूर्वक राखिएको भन्न नमिल्ने प्रतिवेदनमा जनाइएको छ । गत पुस ४ गते साथीको डेरामा बसेका प्रवीण ५ गते बिहान मृत फेला परेका थिए । आफ्ना छोराको मृत्यु भइसकेपछि उपचारको बहानामा गोदावरी अस्पताल लगिएको बताउँदै हत्याको आशंकामा प्रवीणका बुबा प्रेम बास्तोलाले पुस ९ गते प्रहरीमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा प्रहरीले ६ जना आरोपीहरुलाई पुस ११ गते पक्राउ गरेको थियो ।

तर मुद्दा चलाउन पर्याप्त प्रमाण नपुगको तर्कका आधारमा जिल्ला सरकारी वकिल कार्यालयको आदेशमा माघ २ सबै आरोपीहरुलाई प्रहरीले जिम्मा जमानीमा रिहा गरिदिएको थियो । प्रवीणको हत्याको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालय मोरङमार्फत् होटल सञ्चालक उर्लाबारी नगरपालिका ९ का ३४ वर्षीय कुमार राई, शव भेटिएका घरका मालिक रमेश गिरी, प्रवीणका साथीहरू मोरङ्गको रतुवामाई नगरपालिका – १० पवित्रा चोकका २९ वर्षीय रिकेश सिवा भन्ने मेहरमान दर्जी,उर्लाबारी नगरपालिका ६ प्रगति टोलका १९ वर्षीय सुदीप परियार, सोही ठाउँका ३२ वर्षीय राजेश रणपहेली र झापाको गौरादह नगरपालिका ९ का ३१ वर्षीय दिपेश पौडेलमाथि फागुन ११ गते कर्तव्य ज्यान अभियोग दर्ता गरेको जिल्ला सरकारी वकिल कार्यालय मोरङका जिल्ला न्यायाधिवक्ता मनोजकुमार आचार्यले बताए ।

pravin bastola. 1

सबै आरोपीहरुलाई पक्राउ गरिसकिएकोमा प्रवीणसँग विवाद गर्ने होटल सञ्चालक कुमार राई तीन लाख रुपैयाँ तथा प्रवीणको शव भेटिएको घरका मालिक गिरी एक लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । प्रवीणसँगै कोठामा सुतेका मेहरमान दर्जी भने पुर्पक्षका लागि कारागारमा रहेको प्रहरीले जनाएको छ । आफ्ना दाजुको मृत्यु भएको तीन महिना बितिसक्दा पनि अभियुक्तहरुमाथि मुद्दा नचलेपछि मृतक प्रवीणकी बहिनी सदिक्षाले मुद्दाको प्रगतिबारे प्रहरी कार्यालयमा बुझ्न जाँदा घटनाको प्रहरी मुचुल्कामा प्रवीणजस्तै देखिने अर्कै व्यक्तिको फोटो टाँस गरिएको रहस्य खुलेको थियो, जसलाई प्रहरीले पनि त्रुटि भएकै हो भनी स्वीकार गरेको थियो । मुद्दालाई कमजोर बनाई अभियुक्तलाई बचाउने बदनियतका साथ इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक उद्धव पोख्रेलले जानाजान मृतकको फोटो परिवर्तन गरेको मृतकका आफन्त तथा स्थानीयहरुको आरोपका बीच न्यायको माग राखी आन्दोलन भएपछि चौतर्फी दबाबका कारण अभियुक्तहरुमाथि मुद्दा दर्ता भई कारबाही अगाडि बढेको हो । अनियमितता ठहर भएपछि प्रहरी निरीक्षक पोख्रेल पनि इलाका प्रहरी कार्यालयका प्रमुखको जिम्मेवारीबाट च्युत भएका छन् ।