इटहरीः सुनसरीको कोसी गाउँपालिका ८ भण्टाबारीबाट सशस्त्र प्रहरी बलको टोलीले ४९ किलो प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ ।
हिजो साँझ केराको बगानमा लुकाई राखेको अवस्थामा उक्त परिमाणको गाँजा बरामद भएको इटहरीस्थित सशस्त्र प्रहरी बल वराह वाहिनीका वाहिनीपति सशस्त्र प्रहरी नायबमहानिरीक्षक (डीआईजी) वंशीराज दाहालले जानकारी दिए । उनका अनुसार भारतीय सीमावर्ति क्षेत्रमा पर्ने केराको बगानमा माटोमुनि गाडेर राखिएको अवस्थामा गाँजा बरामद भएको हो । टोलीले गाँजा बरामद गरेपनि गाँजा राख्ने व्यक्तिलाई भने फेला पार्न नसकेको उनको भनाइ छ ।
गाँजा राख्ने काममा संलग्न अभियुक्तको खोजी भइरहेको भन्दै नायबमहानिरीक्षक दाहालले सीमावर्ति क्षेत्रमा हुनसक्ने लागूऔषधको अवैध कारोबार नियन्त्रणका लागि सशस्त्र प्रहरी बलले सुरक्षा सतर्कता बढाएको जानकारी दिए । आसन्न महाशिवरात्रि पर्वलाई लक्षित गरी भारततर्फ अवैध पैठारी गर्ने उद्देश्यले गाँजा भण्डारण गरिएको हुनसक्ने प्रारम्भिक अनुमान सशस्त्र प्रहरी बलल गरेको छ ।