इटहरीः मोरङको पथरीशनिश्चरे नगरपालिका १०, जिरिखिम्तिका १९ वर्षीय सन्दीप भण्डारीको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक जना शंकास्पद अभियुक्तलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पथरीशनिश्चरे नगरपालिका २ घर भएका युवराज बास्कोटा रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) मानबहादुर राईले जानकारी दिए । अभियुक्त बास्कोटाकै घरमा बसेका भण्डारीको पुस १४ गते शंकास्पद अवस्थामा ज्यान गएपछि आफन्तले निजविरुद्ध पुस २६ गते कर्तव्य ज्यान अभियोगमा दर्ता गराएको किटानी जाहेरीका आधारमा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि अभियुक्त बास्कोटालाई आज पक्राउ गरिएको उनको भनाइ छ । मृतक भण्डारीको शरीरमा देखिएको निलडामले हत्याको आशंका उत्पन्न भएको आफन्तको भनाइ छ ।
अभियुक्त बास्कोटाउपर जिल्ला अदालतबाट कर्तव्य ज्यान अभियोगमा म्याद थप गराई अनुसन्धान अगाडि बढाइएको एसपी खड्काले बताए । अभियुक्त बास्कोटा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का स्थानीय नेतासमेत रहेको पाइएको छ । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आयोजित समारोहमा उपस्थित भएका बास्कोटालाई सोमबार हत्यामा संलग्न रहेकै आरोपमा स्थानीय महिलाहरुले कुटपिटसमेत गरेका थिए ।