राँझाः जिल्ला प्रहरी कार्यालय बाँकेले राप्तीसोनारी गाउँपालिकाबाट अवैध हतियारसहित एकजनालाई पक्राउ गरेको छ ।
राप्तीसोनारी गाउँपालिका–५ स्थित जबरपुरमा खोजतलासका क्रममा अत्याधुनिक हतियारसहित सोही गाउँ निवासी ६८ वर्षीय ऋषिराम थारूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धामपुरका प्रमुख प्रहरी सहायक निरीक्षक फत्तेसिंह थारूले जानकारी दिए । उनका अनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले खोजतलास गर्दा ऋषिरामको घरबाट भरुवा बन्दुक दुईथान, छोरा ओमप्रकाश थारूको घरबाट एकथान बारबोर बन्दुक र भाइ लालबहादुर थारूको घरबाट एकथान कटुवा पेस्तोल, त्यसमा लाग्ने बारुद एक किलो, सटगनमा लाग्ने खोका ५० वटा, सटगन जेगीराउन्ड एकथान, जरायोको सिङ तीनथान, बँदेलको दाँत १० थान, चित्तलको दाँत चारथान र दुम्सीको प्वाँख फेला परेको हो ।
पक्राउ परेका थारू वि.सं. २०७४ को निर्वाचनमा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालबाट गाउँपालिका अध्यक्ष र बाँके १ नम्बर निर्वाचन क्षेत्र ‘क’बाट प्रदेशसभा सदस्यको उमेद्वार बनेका थिए । फरार रहेका लालबहादुर र ओमप्रकाशको खोजी जारी रहेको प्रहरी सहायक निरीक्षक थारूले जानकारी दिए । -रासस