इटहरीः आफ्नै अनुयायी महिलामाथि बलात्कारको आरोप लागी सुनसरी जिल्ला अदालतबाट सफाइ पाएका सिद्धबाबा भनिने कृष्णदास गिरीविरुद्ध उच्च अदालत विराटनगरमा पुनरावेदन दर्ता भएको छ । अदालतका सूचना अधिकारी ओम सुवेदीका अनुसार गिरीविरुद्ध गत शुक्रबार पुनरावेदन दर्ता भएकोमा सोही दिन उच्च अदालतले गिरीको मुद्दाको मिसिल उपलब्ध गराउन सुनसरी जिल्ला अदालतलाई पत्राचार गरिसकेको छ । २०७६ कात्तिक ४ गते राति करणी गरेको आरोपमा ३८ दिनपछि २०७६ मंसिर ११ गते गिरीविरुद्ध जाहेरी दर्ता भएको थियो । काठमाडौं बस्ने पीडित महिला पाथीभरा गएर फर्कने क्रममा गत वर्ष ३ कात्तिकमा चतरास्थित आश्रममा गएकी थिइन् । त्यही दिन बेलुका आफ्नो कोठामा बोलाएर बलात्कार गरेको पीडित महिलाको भनाइ छ । आफूले भोलिपल्टै उजुरी दिन खोजे पनि आफूलाई अनेक बहाना गरेर काठमाडौं पठाइएको ती महिलाको भनाइ छ । यो घटनाको अनुसन्धानमै चलखेल भएको थियो । सुरुमा सुनसरी प्रहरीले जाहेरी नै दर्ता गर्न मानेको थिएन ।

धम्की र प्रलोभन दिँदै उजुरी गर्न दबाब दिएपछि ती महिला पछि काठमाडौंमा आएर केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा जाहेरी दिएकी थिइन् । सिआइबीले जाहेरी दर्ता गरेर सुनसरी पठाएको थियो । घटना मिडियामा आएपछि गिरी पक्राउ परे । पक्राउ परेपछि हिरासत बस्न मानेनन् । बिरामीको नाटक गरेर अस्पताल बसेका थिए । जिल्ला अदालतले तीन लाख धरौटीमा छाड्ने आदेश दिएकोमा पछि उच्च अदालतले थुनामा राख्ने आदेश दिएको थियो । त्यसअघि नै भारत भागेका थिए । पछि अदालतमा उपस्थित भएर जेल चलान भएका थिए । सर्वाेच्चले पनि फैसला नआउन्जेल थुनामै राख्नुपर्ने आदेश गत १२ मंसिरमा मात्र दिएको थियो । सर्वाेच्चको आदेश आएको १० दिनमै हतारहतार फैसला गरी गिरीलाई सफाइ दिएको थियो । बलात्कारसम्बन्धी मुद्दामा सर्वाेच्च अदालतका विभिन्न नजिरले भन्छ– पीडितको भनाइ नै यसमा सबैभन्दा ठूलो प्रमाण हो । तर, यो मुद्दामा त्यसबाहेक अन्य प्राविधिक प्रमाणहरू हुँदाहुँदै पनि फैसलामा बेस्वास्ता गरिएको थियो । पीडितसँगको कुराकानीमा गिरीले अभियोग स्वीकार गरी माफी मागेका छन् । घटनाको केही दिनपछि पीडितलाई फोन गरी उनले माफी माग्दै अबदेखि यस्तो गल्ती नहुने भन्दै कतै उजुरी नगर्न आग्रह गरेका छन् ।

एक घन्टा २५ मिनेट लामो सो अडियोलाई अदालतमा पेस गरिएको थियो  । गिरीले त्यो अडियो आफ्नो नभएको दाबी गरेका थिए । तर, प्रहरीको विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा ६७.३७ प्रतिशत आवाज म्याच गरेको थियो । स्थानीय भोला बरालको मोबाइलबाट कुराकानी भएको थियो । बरालले आफ्नो मोबाइलबाट गिरीले फोन गरेको भनेर कागज गरिदिएका थिए । गिरीलाई तत्कालिन जिल्ला न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले १४ पुस २०७६ मा तीन लाख धरौटीमा पूर्पक्षका लागि छाड्ने आदेश दिएको थियो । जिल्लाको आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले उच्चमा पुनरावेदन दिएको थियो । ९ माघ २०७६ मा उच्च अदालत विराटनगरमा मुख्यन्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको संयुक्त इजलासले जिल्लाको आदेश उल्टाउँदै थुनामा राखेर मुद्दाको पूर्पक्ष गर्न आदेश दिएको थियो । अदालतमा मुद्दा सुनुवाइ भएकै दिन विराटनगर रानी हुँदै भारत पुगेका गिरी ४० दिनपछि हाजिर भएर थुनामा बसेका थिए ।