इटहरीः मोरङको भारतीय सीमावर्ति जहदा गाउँपालिका १ स्थित लङ्का टोलबाट ब्राण्डेड मदिराको तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित मटियारी घर भएका ३२ वर्षीय शिवलाल राय रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) मानबहादुर राईले बताए । उनका अनुसार घटनामा संलग्न अर्का अभियुक्त जहदा १ का रमेश यादव भने फरार भएका छन् । विशेष सूचनाका आधारमा आज बिहान १ः३० बजे प्रहरी टोलीले यादवको घरमा छापा मारी विभिन्न ब्राण्डका तीन सय ५० कार्टुन मदिरा बरामद गरेको उनको भनाइ छ ।
बरामद गरिएका सिग्नेचर, गोर्खा स्ट्रङ बियर, सोफी, उमङ्ग, ब्ल्याक ओके लगायतका मदिराको मूल्य सात लाख रुपैयाँ रहेको प्रहरीको भन्दै डीएसपी राईले मदिरा तस्करीका लागि अभियुक्तहरुले प्रयोग गर्र्ने गरेका भारतीय नम्बरका चार ओटा मोटरसाइकल र एउटा कार पनि प्रहरीले बरामद गरेको बताए । अभियुक्तसँग मदिराको कारोबार गर्ने इजाजतपत्रसमेत नरहेकाले उनीहरु अवैध कारोबारमा संलग्न रहेको पुष्टि हुने जिल्ला प्रहरी प्रमुख एसपी सन्तोष खड्काको भनाइ छ । पछिल्लो समय नेपाली बजारबाट भारतीय क्षेत्रमा मदिराको तस्करी मौलाएको बताउँदै उनले यसको नियन्त्रणका लागि प्रहरीले २४ घण्टे गस्ति गरिरहेको जानकारी दिए । फरार अभियुक्त यादवको खोजी तिव्र रुपमा गरिरहेको उनको भनाइ छ ।