इटहरीः मोरङको विराटनगरस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले गुणस्तरहीन उत्पादन बिक्री वितरण गरेको अभियोगमा सात ओटा व्यापारिक प्रतिष्ठानलाई कारबाहीका लागि मुद्दा चलाएको छ ।

उत्पादनको गुणस्तर मापदण्ड पालना नगर्ने तथा गलत तरिकाले प्याकेजिङ गरी वस्तुको बजारीकरण गर्ने व्यापारिक प्रतिष्ठानका विरुद्ध सम्बन्धित मुद्दा हेर्ने निकायमा मुद्दा दायर गरिएको कार्यालयका प्रमुख राजकुमार रिजालले बताए । उनका अनुसार मुद्दा दायर गरिएका व्यापारिक प्रतिष्ठानहरुमा बालाजी डेरी उद्योग, बालाजी ट्रेडिङ एन्ड कन्सर्न, शिवम डेरी उद्योग, विराट गोल्छा घ्यू प्याकेजिङ्ग,एसियन फिड्स प्रालि, सगुन पाउरोटी उद्योग, रुमन फुड एन्ड वेभरेज उद्योग, शङ्कर किराना पसल र कपिश इन्टरप्राइजेज रहेका छन् । बालाजी डेरी उद्योग, बालाजी ट्रेडिङ कन्सर्न र विराट गोल्छा घ्यू प्याकेजिङविरुद्ध उत्पादन गुणस्तरहीन रहेको तथा अस्पष्ट लेबल टाँस गरी बिक्री गरेको अभियोगमा जिल्ला अदालतमा मुद्दा दायर गरिएको प्रमुख रिजालले बताए ।

यसका साथै, एसियन फिड्स प्रालि, सगुन पाउरोटी उद्योग, रुमन फुड एन्ड वेभरेज उद्योग प्रालि, शङ्कर किराना पसल र कपिश इन्टरप्राइजेजविरुद्ध जिल्ला प्रशासन कार्यालय कार्यालयमा मुद्दा दायर गरिएको रिजालको भनाइ छ । चालु आर्थिक वर्षको दोस्रो चौमासिकको समाप्तिसँगै सो अवधिमा कार्यालयले सम्पादन गरेका कार्यहरुको प्रगति समीक्षा तथा योजना तर्जुमा गोष्ठी आयोजना गरी कार्यालयले हिजो यो जानकारी सार्वजनिक गरेको हो । गोष्ठीमा सहभागी मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले स्थानीय तहलाई बजार अनुगमनको अधिकार दिइएकोमा स्थानीय तहहरुबाट सोको उचित प्रयोग नहुँदा बजार नियमनमा समस्या उत्पन्न भएको बताए । बजार अनुगमनलाई प्रभावकारी बनाउनेतर्फ प्रयास भइरहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक उपेन्द्र रायको कथन थियो ।