इटहरीः मोरङको विराटनगरस्थित नेपाल आयल निगमको पूर्वी डिपोबाट भारततर्फ इन्धन तस्करी हुने गरेको खुलासा भएको छ ।

गत शनिबार विराटनगरबाट इन्धन लिनका लागि भारत जान लागेको को१ख ५९१२ नम्बरको ट्याङ्करमा दुई हजार छ सय ६० लिटर डिजल फेला परेपछि तस्करीमा संलग्न रहेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्यअन्तर्गत अररिया जिल्ला मिरगन्जका २६ वर्षीय मोहमद सजाद र २१ वर्षीय इमरोज आलम रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) मानबहादुर राईले बताए । उनका अनुसार भारततर्फ इन्धन लिनका लागि बरौनी जान लागेको ट्याङ्कर लक गर्ने क्रममा ट्याङ्करको दुई नम्बर च्याम्बरमा उक्त परिमाणको डिजल फेला परेको थियो । डिजल फेला परेलगत्तै निगमका कर्मचारीले प्रहरीलाई खबर गरेपछि दुवै अभियुक्तहरु पक्राउ परेको डीएसपी राईको भनाइ छ ।

भारतमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भई नेपालभन्दा महङ्गो मूल्य कायम भएपछि भारतबाट आयातित इन्धन भारततर्फ नै तस्करी हुन थालेको निगमको विराटनगरस्थित कार्यालयका सूचना अधिकारी दीपक बिष्टले जानकारी दिए । तस्करीकै नियन्त्रणका लागि ट्याङ्कर लक गर्न सुरु गरिएको बताउँदै उनले लक गरिएको ट्याङ्करको चाबी विराटनगर र बरौनीस्थित डीपोमा मात्र रहने उल्लेख गरे । पक्राउ परेका अभियुक्तहरुलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालयमा बुझाइएको उनको भनाइ छ । डिजल तस्करीमा संलग्न ट्याङ्कर ढुवानी व्यावसायी सङ्घ सचिव चरणप्रित सिंहको हो । शुक्रबार राति सिंहको ट्याङ्करले बुढीगङ्गाको नेमुवामा रहेको नितेश आयलमा इन्धन भरेको थियो । नितेश आयलका सञ्चालक महेश अग्रवाल हुन् ।

ट्याङ्करको चाबी विराटनगर र बरौनीमा रहँदासमेत तस्करी नरोकिएबाट पेट्रोलियम तस्करीमा तस्कर गिरोहकै सक्रियता रहेको प्रहरीको अनुमान छ । घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । नेपाली बजारमा प्रतिलिटर एक सय १६ रुपैयाँमा पाइने पेट्रोल भारतीय बजारमा एक सय ५५ रुपैयाँ र नेपालमा प्रतिलिटर ९९ रुपैयाँमा पाइने डिजल भारतमा करिब एक सय २५ रुपैयाँ पर्ने गरेको छ ।