इटहरीः सुनसरीको धरानस्थित भानुचौकमा रहेको तेह्रथुम होटलको कोठाबाट प्रहरीले अवैध लागूऔषध ब्राउनसुगरसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको दार्जिलिङ घर भएका ३१ वर्षीय विशन घले र उनकी श्रीमति २२ वर्षीया पुन्या तामाङ रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) विपिन रेग्मीले बताए । उनका अनुसार होटलको १०६ नम्बर कोठामा बसेका उनीहरुलाई प्रहरीले हिजो दिउँसो १ बजे पक्राउ गरेको हो ।

अभियुक्तहरुका साथबाट ६ ग्राम ८० मिलिग्राम ब्राउनसुगर बरामद भएको बताउँदै डीएसपी रेग्मीले उनीहरुउपर लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार कारबाही चलाइने जानकारी दिए । भारतबाट नेपालतर्फ ब्राउनसुगर तस्करीमा उनीहरु संलग्न रहेको प्रहरीको भनाइ छ ।