इटहरीः झापाको बुद्धशान्ति गाउँपालिका २ स्थित बिरिङ खोला क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट दुई जना मजदुर घाइते भएका छन् ।

बिहान ६ बजे खोलामा बाँध निर्माणको क्रममा हात्तीको आक्रमणमा परेका इलामको देसमाई नगरपालिका १० घर घर भएका १९ वर्षीय विजय खाति र झापाको अर्जुनधारा नगरपालिका १ सिस्ने घर भएका १९ वर्षीय मिलन कार्की डोली घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) राकेश थापाले बताए । घाइतेमध्ये खातिको गम्भीर अवस्थामा बिर्तामोडस्थित बिर्ता सीटी अस्पतालमा उपचार भइरहेको उनको भनाइ छ । उनका अनुसार खातिको देब्रे हात र छातिमा चोट लागेको छ । अर्का घाइते कार्की भने स्थानीय मेडिकलमा सामान्य उपचारपछि घर फर्किएको उनले बताए । उनको देब्रे खुट्टामा सामान्य चोट लागेको थियो ।