इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर १६ बालग्रामका दीपेश चौधरी गत वर्ष वैदेशिक रोजगारीका लागि विभिन्न कन्सल्टेन्सी धाए ।

उनी इटहरीमा रहेका नाम चलेका सबै म्यानपावर र कन्सल्टेन्सीमा पुगे । कुनै ठाउँमा उनले आफूले चाहेको काम पाएनन् भने कतै काम अनुसारको दाम पाएनन् । यसरी कन्सल्टेन्सीको खोजीमा रहेका उनलाई मीरा कार्की भनिने बालकुमारी कार्कीले इटहरी उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको रोयल पाण्डा कन्सल्टेन्सीबारेमा जानकारी गराइन् । रोयल पाण्डा एजुकेशन कन्सल्टेन्सी पुगेपछि दीपेशले आफूले सोचेको जस्तै काम र दाम पाउने भए । त्यसपछि उनी कामको लागि रोयल पाण्डा कन्सल्टेन्सीबाट थाइल्याण्ड जाने तयारीमा लागे । यसरी उनीजस्तै रोयल पाण्डा एजुकेशन कन्सल्टेन्सीले ३७ जना विभिन्न ठाउँका युवाहरुलाई दीपेशलाई जसरी नै थाइल्याण्ड र फ्रान्स पठाइदिने बताए । सुरुमा रोयल पाण्डा एजुकेशन कन्सल्टेन्सीका सञ्चालक दीपकप्रसाद ढुङ्गेलले उनीहरुलाई सिधै थाइल्याण्ड लगिदिने बताएका थिए । गत वर्ष नै थाइल्याण्ड लग्ने भनेपनि कोरोनाका कारण पछाडि धकेलिएको दीपेशले बताएका छन्् ।

ujuri

कोरोना महामारी कम भएपछि दीपेशसहित सबै जना पुनः रोयल पाण्डा कन्सल्टेन्सीमा आए । त्यहाँ आएपछि उनीहरुलाई जानबापत लाग्ने रकम जम्मा गर्न लागाइयो । र, दीपेशसहित सबैले, कसैले एकै पटक र कसैले विभिन्न चरणमा रोयल पाण्डा कन्सल्टेन्सीलाई नगद बुझाए । सुरुमा थाइल्याण्ड लग्ने भनेपनि पछि युएईको दुबईमा मात्र लग्ने र त्यहाँबाट नयाँ भिसाबाट थाइल्याण्ड पठाउने दीपेश लगायतका ३७ जनाले थाहा पाए । सुरुमा रोयल पाण्डा कन्सल्टेन्सीम दीपेशलाई लग्ने मीराले ‘दुबईमा लगेर राख्ने रैछ । त्यहाँबाट भिसा ल्याएर अनि मात्र थाइल्याण्ड लग्छ रे । अब म रिक्स लिन सक्दिन’ भन्दै बताएकी थिइन् । त्यहीँबाट मीराले दीपेशलाई छोडिन् । दुबई पुगेर केही दिन बसेर थाइल्यण्ड जाने आशाका साथ दीपेश र उनका साथीहरु तयार भए । त्यसपछि रोयल पाण्डा कन्सल्टेन्सीका सञ्चालक दीपकप्रसाद ढुङ्गेलले उनीहरुको हातमा टिकट थमाइदिए । केहीको टिकट आइसकेको थियो भने केहीको बुक भएको तर आउन बाँकी रहेको दीपकप्रसाद ढुङ्गेलले जानकारी दिए । टिकट पाउनेमा दीपेश परे र काठमाडौँ गए । शुक्रबार साँझ उनीहरु सुनसरीको इटहरीबाट काठमाडौँ पुगेका थिए । उनीहरुको शनिबार राति नेपाल एयर लाइन्सको विमानबाट ‘फ्लाइट’ हुने पक्का भयो ।

नेपालबाट सिधा थाइल्याण्डको भिसा नभएकाले दीपकप्रसाद ढुङ्गेल पनि उनीहरुसँगै दुबई जाने भएका थिए । उनले पनि सोही जहाजको टिकट लिएका थिए । २०७७ फागुन २२ गते शनिबार बिहान दीपेशले दीपकप्रसाद ढुङ्गेललाई फोन गरेका थिए । फोनमा ढुङ्गेलले ‘म गलेको छु । मलाई सुत्न देउ । तिमीहरु पीसीआर परीक्षण गर्न जाओ’ भनेका थिए । सोही अनुसार उनीहरुले काठमाडाँैको के.एम.सी अस्पतालमा पीसीआर परीक्षण गरे । उनीहरुको परीक्षणको रिपोर्ट नेगेटिभ आयो । अस्पतालबाट आएपछि दीपेशले दीपकप्रसाद ढुङ्गेललाई फोन गरे । तर, उनको फोन नै लागेन । बारम्बार प्रयास गर्दा पनि उनको फोन अफ भयो । त्यहीँबाट उनीहरुले दीपकप्रसाद ढुङ्गेल ठग भएको आँकलन गरे । त्यसपछि उनीहरुले दीपकप्रसाद ढुङ्गेलविरुद्ध प्रहरीमा उजुरी दिने निर्णय गरे । मीरा कार्कीले उनीहरुलाई प्रहरीमा उजुरी नगर्न भनिन् । केही कारणले फोन ‘अफ’ भएको होला भनेर मीराले उनीहरुलाई पर्खन लगाइन् । त्यो दिन, दिनैभरि नआएपछि उनीहरुले आफू ठगिएको थाहा पाए ।

consultancy

जिल्ला प्रशासन कार्यालय र प्रहरीमा उजुरी
यसरी ठगिएपछि दीपेश लगायतका १५ जनाले जिल्ला प्रशासन कार्यालय सुनसरीमा उजुरी दर्ता गराए । उनीहरुले ‘वैदेशिक रोजगारीमा लग्छु भनेर ठगी गरेको हुँदा मेनपावरवाला व्यक्तिलाई पक्राउ गरी आवश्यक कानुनी कारबाही गरी पाउँ’ भनेर प्रमुख जिल्ला अधिकारीलाई निवेदन दिए । उनीहरुले दीपकप्रसाद ढुङ्गेलसँगै सोही कन्सल्टेन्सीमा कार्यरत कर्मचारी विशाल आचार्य ठगी गरेर फरार भएमा दुवै अभियुक्तहरुको खोजी गरिदिन भन्दै उजुरी दिएका थिए । आफूहरुलाई टुरिष्ट भिसामा दुबई लग्ने र त्यहाँबाट थाइल्याण्ड लग्ने भन्दै झुक्याएको उनीहरुले सो उजुरीमा उल्लेख गरे । उजुरीसँगै उनीहरुले आफूले तिरको नगदको बिलको रसिद, कन्सल्टेन्सीले दिएको जहाजको टिकट र ठगको फोटो समावेस गरी बुझाएका थिए । जिल्ला प्रशासन कार्यालय सुनसरीमा उजुरी दर्ता गराएको यतिका दिन बितिसक्दा पनि खोजी नगरेको भन्दै पीडित दीपेशसहित १५ जनाले दुःख व्यक्त गरेका छन् । जिल्ला प्रशासन कार्यालय सुनसरीबाट कुनै पहल नभएपछि उनीहरुले इलाका प्रहरी कार्यालय इटहरीमा मुद्दा दर्ता गराएका छन् । यसका साथै काठमाडौँ प्रहरीमा पनि उजरी दर्ता गराएको दीपेशले बताएका छन् । अहिले सबै ठाउँबाट उनको खोजी भइरहेको छ । कन्सल्टेन्सीका सञ्चालकको फोन भने अझै बन्द छ ।

rasid

विभिन्न चरणमा करोडौँ ठगी
रोयल पाण्डा एजुकेशन कन्सल्टेन्सीका सञ्चालक दीपकप्रसाद ढुङ्गेलले डेढ करोडभन्दा बढी रकम लिएर फरार भएको पीडितहरुले बताएका छन् । उनीहरुका अनुसार दीपकले विभिन्न तीन वटा ग्रुपबाट विभिन्न दरमा रकम लिएका थिए । दीपेशको ग्रुपमा १५ जना थिए । उनीहरुको ग्रुपमा सबै जनाले जनही दुई लाख ७६ हजारको दरले दीपकलाई रकम बुझाएका थिए । १५ जनाको कुल रकम ३९ लाख ७५ हजार हुन्छ । यस्तै अन्यबाट जनही दुई लाख ७० हजारदेखि दुई लाख ८० हजारसम्म लिएको पीडित दीपेशले जानकारी दिए । रोयल पाण्डा एजुकेशन कन्सल्टेन्सीका सञ्चालक दीपकप्रसाद ढुङ्गेलले उनीहरुसँग कसैबाट एकै पटक र कसैसँगै दुई चरणमा गरेर नगद लिएका थिए । ३७ जनाबाट उनले डेढ करोडभन्दा बढी रकम लिएको दीपेशले जानकारी दिएका छन् ।