इटहरीः मोरङको उर्लाबारी ५ का प्रवीण बास्तोलाको हत्या प्रकरणमा संलग्न मुख्य अभियुक्त राजेश रणपहेलीसहित अन्य अभियुक्तहरुलाई पक्राउ गर्ने कार्यमा संलग्न रहेका दुई प्रहरी जवानहरुलाई पुलिस अफ द मन्थ घोषित गरिएको छ ।
पुलिस अफ द मन्थको उपाधि प्राप्त गर्नेहरुमा प्रहरी जवानहरु ज्ञानबहादुर बस्नेत र अशोक राई रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका अनुसार उनीहरुलाई प्रदेशभरका प्रहरीमध्येबाट फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको हो । प्रहरी जवानद्वयले प्रवीण हत्याका मुख्य अभियुक्त रणपहेलीसहित अर्का अभियुक्त दीपेश पौडेललाई रुपन्देहीको सदरमुकाम भैरहवाबाट पक्राउ गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । अभियुक्त रणपहेली र पौडेल दुवै इलाका प्रहरी कार्यालय उर्लाबारीका तत्कालीन प्रमुख प्रहरी निरीक्षक उद्धव पोख्रेलको नेतृत्वमा खटिएको टोलीद्वारा गत फागुन २१ गते पक्राउ परेका थिए । प्रहरी जवान राई प्रहरी चौकी हर्कपुर ओखलढुङ्गा दरबन्दी भई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूह र प्रहरी जवान बस्नेत प्रहरी चौकी कर्सिया, मोरङ दरबन्दी भई जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत छन् ।
विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पु¥याउनुको साथै कर्तव्य ज्यान, अपहरण गरी शरीर बन्धकजस्ता जघन्य तथा गम्भीर प्रकृतिका अपराध गरी वारदातपश्चात फरार रहेका प्रतिवादीहरु, चोरी पैठारी तथा प्रतिबन्धित लागू औषध कारोबारीलगायत विभिन्न आपराधिक घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ तथा कानूनी कारबाहीको दायरामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै आम नागरिकहरुमा सुरक्षाको अनुभूति हुनेगरी नागरिकसमक्ष प्रहरीको छवि उच्च बनाउनेतर्फ प्रशंसनीय कार्य गरेकोले राई र बस्नेतलाई उनीहरुले गरेको उत्कृष्ट कार्यसम्पादनको उच्च मुल्याङकन गर्दै २०७७ साल फागुन “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH)घोषणा गरिएको हो ।
प्रहरी कर्मचारीहरुको मनोबल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेशभरिका प्रहरी कर्मचारीहरुमध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ । सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको विवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेशअन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिनासम्म राखिँदै आएको छ ।