इटहरीः मोरङको सुन्दरहरैँचा नगरपालिका ५ स्थित तेलिया खोलामा निर्मित पक्की पुलमुनि पानीमा डुबेको अवस्थामा आज बिहान एक युवकको शव फेला परेको छ ।

शव फेला पर्नेमा सुन्दरहरैँचा ५ का २५ वर्षीय सुरज चौधरी रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) मानबहादुर राईका अनुसार पुलदेखि १० फिट तल चौधरीको शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । जिन्स पाइन्ट, टि सर्ट र चप्पल लगाएको अवस्थामा शव भेटिएकै खोलाको पुलमाथि को ३७ प ७४४५ नम्बरको मोटरसाइकलसमेत लडिरहेको अवस्थामा फेला परेको डीएसपी राईको भनाइ छ । सो मोटरसाइकल मृतक सुरजकै साथी राजेश चौधरीको रहेको र उनीहरु दुवै जना सोही मोटरसाइकलमा हिजो दिउँसो ४ बजे सँगै हिँडेकाले दुर्घटनामा परी मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

मोटरसाइकलधनि राजेश हालसम्म फरार रहेको बताउँदै डीएसपी राईले मोटरसाइकल राजेशले नै चलाएको हुनसक्ने प्रहरीको अनुमान रहेको बताए । मोटरसाइकलमा यात्रा गरिरहेका बेला दुर्घटनामा परी खोलामा डुबेपछि बाहिर निस्कन नसक्दा सुरजको ज्यान गएको हुनसक्ने उनको कथन छ । घटनाको कारण जे पनि हुनसक्ने भएकाले विभिन्न कोणबाट अनुसन्धान अगाडि बढाइएको प्रहरीको भनाइ छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक ऋषिराज ढकाल नेतृत्वको टोली मुचुल्का संकलनका लागि घटनास्थलमा परिचालित रहेको प्रहरीले जनाएको छ ।