ताप्लेजुङः सूचना तथा प्रसारण विभागले ताप्लेजुङमा सञ्चालन गरेको घुम्ति शिविर तथा क्षमता अभिवृद्धि कार्यक्रममार्फत ८५ सञ्चारकर्मी तथा पत्रकारले सेवा लिएका छन् ।

मङ्गलबारदेखि सदरमुकाम फुङलिङमा सञ्चालित शिविरमार्फत ताप्लेजुङ र पाँचथरका सञ्चारकर्मी एवं पत्रकारले सेवा लिएका हुन् । शिविरमा ४० जनाले नयाँ प्रेस पास लिएका छन् भने एकको पुरानो प्रेस पास नवीकरण भएको छ । सेवा प्राप्त गर्नेमध्ये ४० जनाले भने क्षमता अभिवृद्धि तथा पुनर्ताजगी तालिम लिएका छन् । यस्तै तीन वटा नयाँ अनलाइन दर्ता भएको छ भने तीन अनलाइन थप प्रक्रियाका लागि विभागमा पठाइएको छ । उक्त अनलाइन सञ्चारमाध्यमको विभागबाटै दर्ता गरी जिल्ला हुलाक कार्यालयमार्फत दर्ता प्रमाणपत्र प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको छ ।

शिविरमा एक जनाको १० वर्षे पत्रकारितासम्बन्धी अनुभवसमेत प्रमाणित गरिएको छ । यो कार्यक्रम मुख्यतः हिमाली जिल्ला ताप्लेजुङ र आसपासका जिल्लाका सेवाग्राहीको सहजताका लागि लक्षित रहेकोे विभागका निर्देशक सुमन बज्राचार्यले जानकारी दिए । घुम्ति शिविर बुधबार सम्पन्न भएको छ भने क्षमता अभिवृद्धि तालिम आज समापन हुने बताइएको छ । -रासस