खोटाङः महिलाको कोठामा प्रवेश गरेको भन्दै खोटाङमा एक युवाको हत्या भएको छ ।
कुटपिटबाट गम्भीर घाइते भएका हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका ३४ वर्षीय अजित राईको मृत्यु भएको हो । महिलाको कोठामा प्रवेश गरेको भन्दै कुटपिट हुँदा राईको ज्यान गएको प्रहरीले जनाएको छ । घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले स्थानीयवासी पाँच जनालाई नियन्त्रणमा लिएको छ । यही चैत २ गते राति स्थानीय बासिन्दाको कुटपिटबाट गम्भीर घाइते भएका राईको उपचारका लागि लैजाने क्रममा यही चैत ३ गते मृत्यु भएपछि प्रहरीले चार महिला र एक पुरुषलाई नियन्त्रणमा लिएको हो ।
राति घरमा सुतिरहेकी ३४ वर्षीया एक महिलाको कोठामा प्रवेश गरेर अभद्र व्यवहार गर्न खोजेको भन्दै राईमाथि कुटपिट भएको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक गोविन्द साहले बताए । पक्राउ परेका व्यक्तिलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको र उनीहरुको बयानपछि मात्र घटनाका बारेमा वास्तविकता बाहिर आउने प्रहरीले जनाएको छ । -रासस