इटहरीः झापाका विभिन्न स्थानबाट अवैध लागूऔषध ब्राउनसुगरसहित ६ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा बिर्तामोड नगरपालिका–८ का १९ वर्षीय सरोज सुनुवार र १९ वर्षकै अभिषेक राजवंशी,भद्रपुर नगरपालिका–९ का १९ वर्षीय पवन भनिने साहिल खान,मेचिनगर नगरपालिका–१५ का ३० वर्षीय कुमोलाल राजवंशी, २४ वर्षीय सञ्जय मुखिया र भद्रपुर नगरपालिका–१० का १९ वर्षीय श्रवण मुखिया रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कार्यालयका अनुसार अभिषेक र सरोजलाई हिजो साँझ ५ बजे डाँगीबारीबाट पक्राउ गरिएको हो । उनीहरुको साथबाट २.४३ ग्राम ब्राउनसुगर बरामद भएको प्रहरीको भनाइ छ । उनीहरुलाई वडा प्रहरी कार्यालय भद्रपुरको टोलीले पक्राउ गरेको हो ।
यसैगरी, अर्जुनधारा नगरपालिका ११ स्थित बसपार्क क्षेत्रबाट पक्राउ परेका साहिलका साथबाट प्रहरीले पाँच ग्राम ब्राउनसुगर बरामद गरेको छ । उनलाई इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले पक्राउ गरेको हो । यसैगरी, सञ्जय श्रवण र कुमोलाल मेचिनगर १३ बाट हिजो साँझ ब्राउनसुगरसहित गिरफ्तार भएका थिए । उनीहरुलाई काकडभिट्टाबाट खटिएको टोलीले गिरफ्तार गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका सबै अभियुक्तउपर लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार कारबाही चलाइने प्रहरीको भनाइ छ ।