इटहरीः मोरङको विराटनगर महानगरपालिका १९ धनपुरास्थित एक खेतमा पिपलको रुखमा झुन्डिएको अवस्थामा गत शुक्रबार मृत फेला परेका विराटनगर ३ आयल निगम घर भएका ३८ वर्षीय नितेश राईको हत्यामा संलग्नहरु हालसम्म पक्राउ पर्न सकेका छैनन् ।
पूर्वबक्सिङ खेलाडीसमेत रहेका राई गएको बिहीबार साथीसँग भेटघाट गर्न भनी धनपुरा गएकोमा शुक्रबार विभत्स अवस्थामा उनको शव फेला परेको थियो । प्लाष्टिकको डोरी प्रयोग गरी झुन्डिएको अवस्थामा शव भेटिएपनि मृतकको शरीरमा निलडामका साथै नाक र दाँतसमेत भाँचिएको देखिन्छ । शवको प्रकृति हेर्दा योजनाबद्ध रुपमा हत्या गरी झुन्ड्याइएको प्रष्ट हुने मृतकका दाजु लालबहादुर राईले बताए । उनका अनुसार शव भेटिएको स्थान मुल सडकबाट एक किलोमिटर पर एकान्त स्थानमा रहेको छ । पारिवारिक श्रोतका अनुसार बिहीबार साँझ ६ः३० बजे साथीसँग भेटघाटका लागि धनपुरा गएका नितेशले राति ९ बजे धनपुराका दीपचन ऋषिदेवको घरमा खाना खाएका थिए । दीपचनकी श्रीमति देवांशीले राईसहित करिब ५ – ६ युवाहरुलाई आफ्नै घरमा खाना ख्वाएकी थिइन् । मृतक राईले प्रयोग गरेको स्कुटरसमेत प्रहरीले शुक्रबार ऋषिदेवकै घरमा फेला पारी बरामद गरेको थियो । मृतकका दाजु लालबहादुरका अनुसार उनका भाइले आत्महत्या गर्नुपर्ने कुनै कारण छैन ।
घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) मानबहादुर राईले बताए । उनका अनुसार हालसम्म कुनै अभियुक्तलाई पक्राउ गर्न भने सकिएको छैन । यता, प्रहरीले अनुसन्धानमा तदारुकता नदेखाएका कारण अभियुक्त पक्राउ पर्न नसकेको भन्दै मृतकका आफन्तले भने शव बुझ्न इन्कार गरेका छन् । पोस्टमार्टम गरिसकेपछि शव कोसी अस्पतालमै रहेको छ । घटनाको वस्तुगत छानबिन गरी दोषीलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउनुपर्ने मृतकका आफन्तको माग रहेको छ ।