इटहरीः सुनसरीको इटहरीस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान इश्वर खतिवडा फागुन महिनाको पुलिस अफ द मन्थ घोषित भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले उनलाई सुनसरी जिल्लाकै सर्वोत्कृष्ट प्रहरी घोषित गर्दै पुलिस अफ द मन्थको उपाधि प्रदान गरेको हो । प्रहरी जवान खतिवडा झापाको मेचीपारि प्रहरी चौकी दरबन्दी भई हाल इलाका प्रहरी कार्यालय इटहरीमा कार्यरत रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कमल थापाले जानकारी दिए ।
उनका अनुसार जिल्ला प्रहरी कार्यालय सुनसरीले हरेक महिना कामको मूल्याङ्कनका आधारमा सर्वोत्कृष्ट ठहर हुने प्रहरी कर्मचारीलाई प्रमाणपत्रसहित सम्मान गर्दै उनीहरुको फोटो सहितको फ्लेक्स निर्माण गरी मातहतका प्रहरी कार्यालयहरुमा एक महिनाभर राख्ने गरेको छ ।