इटहरीः मोरङको विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयले मातहतका विभिन्न ब्युरोहरुबाट ६ जना लागूऔषध प्रयोगकर्तालाई हिजो आइतबार दिउँसो पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा झापाको कचनकवल गाँउपालिका–६ का २५ वर्षीय पञ्चानन्द राजवंशी, कचनकवल गाँउपालिका–७ का ५० वर्षीय हेमनायायण राजवंशी, मोरङ उर्लावारी–६ का २० वर्षीय विष्णु पोदार र उर्लाबारी–५ का १६ वर्षीय बालक रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । निजहरुको साथबाट प्रहरीले एन्फाटामाईन आईस ६० ग्राम र ब्राउनसुगर ८० ग्राम बरामद गरेको कार्यालयको भनाइ छ । लागूऔषध नियन्त्रण ब्युरो काकडभिट्टाको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

यसैगरी, इलाका प्रहरी कार्यालय बुधबारेको टोलीले झापाकै बुद्धशान्ति गाउँपालिका ३ बाट सोही ठाउँका २६ वर्षीय सुवास लिम्बूलाई ५ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको कार्यालयले जनाएको छ । यसैगरी, इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीलृ सुनसरीको इटहरी उपमहानगरपालिका २ बाट पाँचथरको फिदिम नगरपालिका–१ घर भएका २३ वर्षीय सुवास आचार्यलाई पाँच सय मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको जनाउँदै प्रहरीले अभियुक्तहरुलाई लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार कारबाही चलाइने प्रष्ट पारेको छ ।