इटहरीः मोरङको बुढीगंगा गाउँपालिकास्थित आरति स्ट्रिप्स इन्डष्ट्रिज प्रा.लि.का मजदुरमाथि सञ्चालकबाट कुटपिट भएको छ ।

कुटपिटमा पर्नेमा भारतको बिहार राज्यस्थित मोतिहारी जिल्ला घर भएका नगेन्द्रकुमार गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काले बताए । उनका अनुसार सन् २००९ देखि टेक्निकल प्रमुखका रुपमा आरति स्ट्रिप्समा कार्यरत रहेका गुप्तालाई प्रा.लि.कै सञ्चालक भारतीय नागरिक सञ्जय सिंघलले कुटपिट गरेका हुन् । कुटपिटपछि पीडित गुप्ताको उजुरीका आधारमा उनीमाथि अभद्र व्यवहार मुद्दामा छानबिनका लागि खोजी गरिरहेको एसपी खड्काको भनाइ छ । कुटपिटका आरोपी सिंघल भारतमा सञ्चालित भुषण  पावर एन्ड स्टिलका मालिक रहेको र सोही कम्पनीअन्तर्गत नेपालमा आरति स्ट्रिप्स पनि उनकै स्वामित्वमा रहेको प्रहरीको भनाइ छ ।

भारतमा सम्पत्ति शुद्धिकरण अर्थात् ‘मनि लण्ड्रिङ’ को अभियोग लागेका सिंघल भारत छोड्न सरकारले लगाएको प्रतिबन्धका बाबजुद जोगबनीबाट नेपाल प्रवेश गरेकोमा नेपालमा पनि अभद्र व्यवहार मुद्दा दर्ता भएपछि भारततर्फ नै भागेका छन् । पीडित गुप्ताले प्रहरीका साथै श्रम कार्यालय विराटनगरमा पनि सिंघलविरुद्ध मुद्दा चलाएको जानकारी दिए ।