इटहरीः झापा,मोरङ र उदयपुरको तिन छुट्टाछुट्टै स्थानबाट मंगलबार दिउँसो लागूऔषध ब्राउनसुगरसहित चार जना पक्राउ परेका छन् ।
झापा मेचिनगर–६ का २० वर्षीय विवेक नेम्वाङ १ ग्राम ७०० मिलिग्राम लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका हुन । उनलाई पानीटंकीबाट नेपालतर्फ आइरहेको अवस्थामा मेचि पुलबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ । यसैगरी, मोरङ केराबारी–१० का २९ वर्षीय रणबहादुर राई १० के.जी.लागूऔषध गाँजासहित पक्राउ परेका छन् । को १९ प ९४२ नम्बरको मोटरसाइकलमा सवार भई आएका उनलाई चेकजाँच गर्दा बोरामा बाधेर मोटरसाइकलको पछाडि लुकाएर राखिएको गाँजा फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
यसैगरी, उदयपुर कटारी–१ बेलसोतबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कटारी–३ का २२ वर्षीय ऐसान खान र सोही स्थानका २० वर्षीय सुमन बोगटी रहेका छन् । उनीहरुलाई लागूऔषध निट्रावेट –१५ ट्याव्लेट र स्पास्मो प्रोक्सिवोन प्लस ७२ ट्याव्लेटसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । यसरी लागूऔषधसहित पक्राउ परेका चारै जनाउपर अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।