इटहरीः नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले सेवानिवृत्त भएका भूतपूर्व नेपाली सेनाहरु पछिल्लो समय काठमाडौँ केन्द्रित हुने गरेको भन्दै त्यो नगर्न आग्रह गरेका छन् ।

बुधबार सुनसरीको इटहरीमा रहेको पूर्वी पृतना हेडक्वाटरमा आयोजित भूतपूर्व सैनिक सम्मेलन कार्यक्रममा बोल्दै उनले भू.पू सैनिकलाई काठमाडौँ केन्द्रित हुन छोड्न अनुरोध गरेका हुन् । उनले नेपाली सेनाले विभिन्न ठाउँमा सैनिक विद्यालय र सैनिक महाविद्यालय सञ्चालन गरेको स्मरण गराउँदै स्थानीय स्तरमा नै रहेको नेपाली सेनाको सेवा उपभोग गर्न सुझाएका छन् । उनले शिक्षासँगै सेनाले स्वास्थ्य क्षेत्रको पनि क्रमिक रुपमा विकास गर्दै गएको जानकारी दिए । पूर्वदेखि पश्चिमसम्म विभिन्न ठाउँमा ५० बेडको सैनिक अस्पताल र प्राथमिक उपचार केन्द्र सञ्चालनमा रहेको उनको भनाइ छ । उनले सेवा निवृत्त भएका नेपाली सेनाका पूर्व सैनिकको परिवारलाई सहयोग पुर्याउन देशैभर विद्यालय र स्वास्थ्य चौकीको स्थापना र संवद्र्धन गर्दै आएको बताएका छन् । यसका साथै पछिल्लो समय स्वास्थ्य सेवाको विस्तारको लागि बर्दिया र धनगढीमा अस्पताल निर्माण गरिएको उनले जानकारी दिए ।

bhu=pu samman

२५ बेड क्षमताका ती अस्पताल आगामी वैशाखबाट सञ्चालनमा आउने उनको भनाइ छ । यस्तै, शैक्षिक क्षेत्रको विस्तारसँगै युगसुहाउँदो विकासमा पनि जोड दिएको प्रधानसेनापति थापाले जानकारी दिए । सेनाले सञ्चालन गरेका विद्यालयहरुमा कक्षा ९ भन्दा माथिल्लो तहमा ‘मल्टिमिडिया’ प्रणालीबाट पठनपाठन हुने गरेको उनले बताएका छन् । यस्तै कोरोना महामारीका कारण भौतिक उपस्थितिमा शिक्षण गर्न नसकेको भन्दै नविनतम् प्रविधिको प्रयोगमा पनि जोड दिएको थापाले बताएका छन् । उनले देशका विभिन्न ठाउँमा निजी अस्पतालसँग समन्वय गरेर स्थानीयस्तरमा नै सेवा निवृत्त सैनिक र उनीहरुका परिवारलाई स्वास्थ्योपचार प्रदान गरिएको बताए । सुरुवात प्रदेश १ बाट भएको पनि थापाले बताएका छन् । अहिले पूर्वी पृतना हेडक्वार्टरले विराट मेडिकल एण्ड टिचिङ अस्पतालसँग स्थानीय अस्पताल साझेदारीअन्तर्गत स्वास्थ्य सेवा दिँदै आएको बताएका छन् । यसरी क्रमिक रुपमा संघीय सरकारकै संरचना अनुसार आफ्नो कार्यक्षेत्र र सेवा पनि विस्तार गर्दै जाने भन्दै उनले काठमाडौँको सपना नदेख्न आग्रह गरे । यसो भए काठमाडौँमा बढ्दै गएको मानव चाप पनि कम हुने उनको भनाइ छ । साथै सबैले काठमाडौँमा रहेको सेनाको अस्पताल र विद्यालयबाट सेवा लिँदा भार बढी भएको भन्दै आफ्नै ठाउँमा बसे सेनाको भार पनि कम हुने बताए ।

फरक प्रसंगमा उनले नेपाली सेनाबाट सेवा निवृत्त भएर स्वदेशमा केही गर्नेभन्दा विदेश जानेको लहर बढेको बताउँदै उक्त कुरा दुःखको विषय भएको बताएका छन् । यसरी विदेश जाँदा उनीहरुले दुःख, कष्ट भोगेको सुन्दै आएको स्मरण गराउँदै थापाले आफ्नै देशमा केही गर्न सुझाएका छन् । उनले देशमा केही गर्न खोज्ने पूर्वसैनिक तथा उनीहरुको परिवारलाई सेनाले ऋण सहयोग उपलब्ध गराउने बताए । नेपाल इन्भेष्टमेण्ट बैंकको साझेदारीमा सेनाले देशभार विभिन्न ठाउँमा पूर्वसैनिक तथा उनीहरुको परिवारलाई ऋण उपलब्ध गराएको छ । उनीहरुले सफलतापूर्वका व्यवसाय सञ्चालन गर्नुको साथै मनग्य आम्दानी गरिरेको प्रधानसेनापति थापाले बताए । यस्तै, सेनामा काम गरेका भूतपूर्व सैनिकले आफ्ना परिवारका नयाँ पुस्तामा नेपाली सेनामा लाग्न प्रेरणा कम गरेको भन्दै सकेसम्म नयाँ पुस्तामा सैनिक बन्ने हौसला दिन अनुरोध गरेका छन् । त्यस्ता सैनिकका सन्तानलाई सेनामा लाग्न विशेष व्यवस्था गर्न पहल गर्नेसमेत उनले बताए छन् ।

sammman

 

सम्मेलनमा सेनाले प्रदेश १ घर भएका भूतपूर्व नेपाली सेनाका सेवा निवृत्त सैनिक, उनीहरुको परिवारका सदस्य, अपाङ्गता भएका भूतपूर्व सैनिक र उनीहरुको परिवारका सदस्य तथा नेपाली सेनाबाट ऋण लिएर व्यवसाय गर्ने उत्कृष्ट व्यवसायीलार्य पनि सम्मान गरेको छ । प्रधानसेनापति थापाले जेष्ठ भूतपूर्व सैनिक तथा एकल महिला र ४ जना र सो भन्दा बढी सन्तानलाई नेपाली सेनामा लाग्न प्रेरित गर्नेलाई पनि सम्मान गरेको छ ।