इटहरीः सुनसरीको इटहरीस्थित इलाका प्रहरी कार्यालयले ठगी गरेको आरोपमा पक्राउ परेका दुई जना अभियुक्तहरुलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इटहरी ९ बस्ने २० वर्षीय फैजान आलम र इनरुवा नगरपालिका १० बस्ने ४१ वर्षीय जल्लाउदिन मिया रहेको इलाका प्रहरी कार्यालय इटहरीका सूचना अधिकारी प्रहरी निरीक्षक रमेशकुमार बस्नेतले बताए । उनका अनुसार अभियुक्तहरुमाथि इटहरी ८ बस्ने ३८ वर्षीय यज्ञविक्रम ठकुरीसँग जग्गा व्यवसायमा लाग्दा फाइदा हुने प्रलोभन दिई नक्कली सुन धरौटी राखी चार लाख रुपैयाँ ठगी गरी फरार भएको आरोप छ ।
सुनजस्तो देखिने आठ ओटा नक्कली सिक्का दिई चार लाख रुपैयाँ लगेपछि पीडित यज्ञविक्रमले अभियुक्तहरुका विरुद्ध दिएको जाहेरीका आधारमा अभियुक्त फैजानलाई इटहरीबाट र अर्का अभियुक्त जल्लाउदिनलाई इनरुवाबाट चैत ९ गते पक्राउ गरी सुनसरी जिल्ला अदालतको आदेशमा ठगी मुद्दामा छानबिनका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।अभियुक्तहरुका साथबाट विभिन्न मिडियाका पत्रकार परिचयपत्रसमेत बरामद गरिएको प्रहरीको भनाइ छ ।