इटहरीः सुनसरीको इटहरीस्थित इलाका प्रहरी कार्यालयले स्कुटर चोरीमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको बुढीगंगा गाउँपालिका २ घर भएका २४ वर्षीय खगेन्द्र काफ्ले र सोही ठाउँका २७ वर्षीय अर्बिन मगर रहेको कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रमेशकुमार बस्नेतले बताए । उनका अनुसार अभियुक्तहरुलाई को ३७ प ८१०५ नम्बरको स्कुटर डोर्याउँदै गरेको अवस्थामा बुढीगंगा गाउँपालिकास्थित कोसी राजमार्ग क्षेत्रबाट चैत ९ गते प्रहरीले पक्राउ गरेको हो ।

अभियुक्तहरुका साथबाट फेला परेको सो स्कुटर मोरङको बेलबारी नगरपालिका १० बस्ने तुलसा धिमालको नाममा दर्ता कायम रहेकोमा चैत ८ गते इटहरीको धरानलाइनस्थित हिमालय बैंकअगाडि रोकी राखेको अवस्थामा हराएको थियो । स्कुटर खोजीका लागि पीडित महिलाले दिएको जाहेरीका आधारमा प्रहरीले अभियुक्तहरुलाई पक्राउ गरेको हो । अभियुक्तहरुलाई सुनसरी जिल्ला अदालतको अदेशमा हिरासतमा राखी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।