खोटाङः सामुदायिक वनमा लागेको डढेलो गाउँमा पसेपछि खोटाङमा चार घर र एउटा बाख्रा फार्म जलेर नष्ट भएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कस्थित सामुदायिक वनमा लागेको डढेलो बुधबार गाउँमा पस्दा बसेरीका तेजविनोद ढकाल, हेमसागर ढकाल, खेमराज ढकाल र बडहरेका दुर्गाबहादुर भुजेलको घर जलेर नष्ट भएको हो । स्थानीय जुरेथुम्का र साँघुरी सामुदायिक वनमा लागेको डढेलो हावाहुरीसँगै गाउँमा पसेपछि उनीहरुको घर जलेर नष्ट भएको स्थानीयवासी सागर खनालले बताए । खनालका अनुसार आठ वर्षअघि जङ्गलमा लागेको डढेलो गाउँ पस्दा घर गुमाएका ढकाल परिवारले पुनः निर्माण गरेका घर यस वर्ष सामुदायिक वनबाट गाउँ पसेको डढेलोले जलेर नष्ट बनाएको हो ।

सामुदायिक वनमा लागेको डढेलो अनियन्त्रित भई गाउँ पस्दा सहकारी संस्थाबाट एक लाख ७० हजार अनुदान लिएर बनाएको आगलागी पीडित भुजेलको बाख्रा फार्मसमेत खरानी भएको जनाइएको छ । आगलागी पीडित भुजेलको घरमा भने वर्षायाममा मात्र बस्ने गरिएको थियो । डढेलो नियन्त्रणका लागि दिक्तेलबाट नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली डढेलो प्रभावित क्षेत्रमा पठाइएको प्रमुख जिल्ला अधिकारी एवं जिल्ला प्राकृतिक प्रकोप समितिका अध्यक्ष मित्रलाल शर्माले जानकारी दिए । साँझपख घटनास्थल पुगेका सुरक्षाकर्मी र स्थानीयवासीले अहिले पनि डढेलो निभाउने प्रयास गरिरहेका छन् । डढेलो निभाउन चम्पावती माविका कक्षा ९ र १० का छात्रछात्रा र शिक्षकसमेत खटिएका स्थानीयवासी किसन भुजेलले जानकारी दिए । डढेलोले तीन घर जलेको जानकारी आए पनि क्षतिको विस्तृत विवरण आउन बाँकी छ । -रासस