इटहरीः मोरङको कटहरी गाउँपालिका ७ थलाहामा रहेको सगरमाथा कृषि फर्मममा आज बिहान आगलागी हुँदा त्यहाँ पालिएका खसी र कुखुरा जलेर मरेका छन् ।
बिहान ४ बजे लागेको आगोमा परी ३४ ओटा खसी र ४० ओटा कुखुरा जलेर मरेको फार्मका सञ्चालक देवेन्द्र भट्टराईले बताए । उनका अनुसार अचानक आगलागी भएपछि निकाल्न नपाउँदै खसी र कुखुरा जलेका हुन् । आगलागीबाट करिब तीन लाख ५० हजार रुपैयाँको क्षति भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) मानबहादुर राईले जानकारी दिए ।
उनका अनुसार स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले एक घण्टाको प्रयासमा आगलागी नियन्त्रणमा लिएको थियो । आगलागीको कारण विद्युत् चुहावट हुनसक्ने प्रहरीको अनुमान छ । घटनाको विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।