इटहरीः सुनसरीको धरान उपमहानगरपालिका १५ बाट हिजो दिउँसो १ बजे प्रहरीले अवैध लागूऔषध ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा धरान–१५ का १९ वर्षीय मनुषा तामाङ, २२ वर्षीय सुजन धमला, २५ वर्षीय विधान आले मगर र धरान–१७ बस्ने २१ वर्षीय अर्पण धमला रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । अभियुक्तहरुका साथबाट प्रहरीले ११ ग्राम प्रतिबन्धित लागूऔषध ब्राउनसुगर बरामद गरेको थियो । धरान १५ मा रहेको विधान आलेमगरको घरमा खानतलासी गर्दा फ्रिजमा लुकाइएको अवस्थामा उक्त परिमाणको लागूऔषध बरामद भएको बताउँदै प्रहरीले पक्राउ परेका सबै अभियुक्तहरुमाथि लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार कारबाहीका लागि जिल्ला अदालत सुनसरीबाट सात दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीको भनाइ छ ।