इटहरीः मोरङको विराटनगरमा आज बसेको जिल्ला कोरोना संकट व्यवस्थापन समिति (डीसीएमसी) को बैठकले कोरोना महामारीबाट बच्न सतर्कता अपनाउनुपर्ने भन्दै आठबुँदे सूचना जारी गरेको छ ।

समितिले जारी गरेको सूचनामा स्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्ने, समुदायमा होली नमनाई परिवारमा सिमीत राख्ने, भीडभाडजन्य गतिविधि नगर्ने, मास्क, सेनिटाइजरजस्ता सामग्रीको उचित प्रयोग गर्नेजस्ता कुरालाई प्राथमिकता दिइएको छ । यसैगरी, कोरोना संक्रमित व्यक्तिको पहिचानका लागि स्वास्थ्य परीक्षण, कन्ट्याक्ट ट्रेसिङका साथै क्वारेन्टाइन, आइसोलेसन सेन्टरजस्ता पूर्वाधार तयारी अवस्थामा राख्न पनि समितिले स्थानीय तहहरुलाई सूचनामार्फत् अनुरोध गरेको छ ।

सूचनाको अटेर गरी मापदण्डविपरीत कार्य गर्ने जोकोहीलाई संक्रामक रोग ऐन २०२० अनुसार कारबाहीको दायरामा ल्याइने पनि डीसीएमसीले प्रष्ट पारेको छ । गृह मन्त्रालयले गत फागुन ९ गते जारी गरेको निर्देशनका आधारमा डीसीएमसीले जिल्लास्तरमा यस्तो सूचना जारी गरेको हो ।

msf