इटहरीः उच्च अदालत विराटनगरले बलात्कार आरोप मुद्दामा जिल्ला अदालतबाट सफाइ दिएका विवादास्पद धर्मगुरु सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।

शुक्रबार उच्च अदालतले १५ दिनभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको हो । ‘न्यायाधीश प्रेमराज ढकाल र रेनुका शाहको इजलासबाट प्रतिवादीलाई १५ दिनभित्र झिकाउने आदेश भएको छ,’ उच्च अदालत विराटनगरका सूचना अधिकारी ओम सुवेदीले भने, ‘यो आदेशलाई अदालती भाषामा झगडिया झिकाउने आदेश भनिन्छ ।’ उनका अनुसार अब म्याद जारी गर्ने तयारी छ । म्याद जारी भएपछि उपस्थित नभए प्रहरीले झिकाउने छ । अदालतमा पुनः बयान लिएपछि मुद्दाको प्रक्रिया अघि बढ्नेछ । उच्च अदालतले जिल्ला अदालतको फैसलाको विषय बुझ्नका लागि झगडिया झिकाउने आदेश दिएको हो ।

२०७६ कात्तिक ४ गते राति करणी गरेको आरोपमा ३८ दिनपछि २०७६ मंसिर ११ गते गिरीविरुद्ध जाहेरी दर्ता भएको थियो । काठमाडौं बस्ने पीडित महिला पाथीभरा गएर फर्कने क्रममा गत वर्ष ३ कात्तिकमा चतरास्थित आश्रममा गएकी थिइन् । त्यही दिन बेलुका आफ्नो कोठामा बोलाएर बलात्कार गरेको पीडित महिलाको भनाइ छ । आफूले भोलिपल्टै उजुरी दिन खोजे पनि आफूलाई अनेक बहाना गरेर काठमाडौं पठाइएको ती महिलाको भनाइ छ । यो घटनाको अनुसन्धानमै चलखेल भएको थियो । सुरुमा सुनसरी प्रहरीले जाहेरी नै दर्ता गर्न मानेको थिएन । धम्की र प्रलोभन दिँदै उजुरी गर्न दबाब दिएपछि ती महिला पछि काठमाडौंमा आएर केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा जाहेरी दिएकी थिइन् । सिआइबीले जाहेरी दर्ता गरेर सुनसरी पठाएको थियो । घटना मिडियामा आएपछि गिरी पक्राउ परे । पक्राउ परेपछि हिरासत बस्न मानेनन् । बिरामीको नाटक गरेर अस्पताल बसेका थिए । जिल्ला अदालतले तीन लाख धरौटीमा छाड्ने आदेश दिएकोमा पछि उच्च अदालतले थुनामा राख्ने आदेश दिएको थियो । त्यसअघि नै भारत भागेका थिए । पछि अदालतमा उपस्थित भएर जेल चलान भएका थिए । सर्वाेच्चले पनि फैसला नआउन्जेल थुनामै राख्नुपर्ने आदेश गत १२ मंसिरमा मात्र दिएको थियो ।

सर्वाेच्चको आदेश आएको १० दिनमै हतारहतार फैसला गरी गिरीलाई सफाइ दिएको थियो । बलात्कारसम्बन्धी मुद्दामा सर्वाेच्च अदालतका विभिन्न नजीरले भन्छ– पीडितको भनाइ नै यसमा सबैभन्दा ठूलो प्रमाण हो । तर, यो मुद्दामा त्यसबाहेक अन्य प्राविधिक प्रमाणहरू हुँदाहुँदै पनि फैसलामा बेस्वास्ता गरिएको थियो । पीडितसँगको कुराकानीमा गिरीले अभियोग स्वीकार गरी माफी मागेका छन् । घटनाको केही दिनपछि पीडितलाई फोन गरी उनले माफी माग्दै अबदेखि यस्तो गल्ति नहुने भन्दै कतै उजुरी नगर्न आग्रह गरेका छन् । एक घन्टा २५ मिनेट लामो सो अडियोलाई अदालतमा पेस गरिएको थियो  । गिरीले त्यो अडियो आफ्नो नभएको दाबी गरेका थिए ।

तर, प्रहरीको विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा ६७.३७ प्रतिशत आवाज म्याच गरेको थियो । स्थानीय भोला बरालको मोबाइलबाट कुराकानी भएको थियो । बरालले आफ्नो मोबाइलबाट गिरीले फोन गरेको भनेर कागज गरिदिएका थिए । गिरीलाई तत्कालिन जिल्ला न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले १४ पुस २०७६ मा तीन लाख धरौटीमा पूर्पक्षका लागि छाड्ने आदेश दिएको थियो । जिल्लाको आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले उच्चमा पुनरावेदन दिएको थियो । ९ माघ २०७६ मा उच्च अदालत विराटनगरमा मुख्यन्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको संयुक्त इजलासले जिल्लाको आदेश उल्टाउँदै थुनामा राखेर मुद्दाको पूर्पक्ष गर्न आदेश दिएको थियो । अदालतमा मुद्दा सुनुवाइ भएकै दिन विराटनगर रानी हुँदै भारत पुगेका गिरी ४० दिनपछि हाजिर भएर थुनामा बसेका थिए । अदालतबाट सफाइ पाएका सिद्धबाबा हाल चतरास्थित आफ्नै आश्रममा फर्किएका छन् ।