इटहरीः मोरङको विराटनगर महानगरपालिका १८ स्थित भेडियारीबाट ठूलो परिमाणको अवैध लागूऔषधसहित दुई जना भारतीय बालकलाई प्रहरीले पक्राउ गरको छ ।

पक्राउ पर्नेहरुमा ११ र १३ वर्षीय बालकहरु रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) मानबहादुर राईले बताए । उनका अनुसार भारतबाट नेपाल प्रवेश गर्ने क्रममा जाली झोलामा राखी लागूऔषध ल्याउँदै गर्दा उनीहरु पक्राउ परेका हुन् । पक्राउ परेका बालकहरुको बयानका आधारमा प्रहरीले भारतको अररियास्थित बैजनाथपुरका २३ वर्षीय दीलिपकुमार साहलाई पनि पक्राउ गरिएको उनले बताए । दीलिपकुमार लामो समयदेखि बालकहरुलाई प्रयोग गरी भारतबाट नेपालतर्फ लागूऔषधको अवैध पैठारी गर्ने कार्यमा संलग्न रहेको डीएसपी राईले उल्लेख गरे ।

पक्राउ परेका बालकहरुले पैसाको लोभमा लागूऔषध ओसार्ने गरेको उनको भनाइ छ । पक्राउ परेका अभियुक्तहरुका साथबाट प्रहरीले डाइजेपाम, फेनारगन र नुफिन गरी पाँच सय ७० एम्पुल लागूऔषध बरामद गरेको उनले जानकारी दिए । पक्राउ परेका अभियुक्तहरुमाथि जिल्ला अदालत मोरङको आदेश अनुसार लागूऔषध नियन्त्रण ऐन २०३३ का आधारमा कारबाही चलाउन अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।