इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर २ को बेलगाछिमा भाला प्रहार गरेर एक जनाको हत्या भएको छ ।

सोमबार दिउँसो १२÷१ बजेको समयमा सोही ठाउँका ५० वर्षीय केशव कार्कीको हत्या भएको हो । हत्या गर्ने सोही ठाउँका जीवनदास रेग्मी रहेका छन् । उनीहरुबीच मनमुटाव रहेको स्थानीयको भनाइ छ । केही दिनअघि पनि रेग्मीले कार्कीको रातिको समय हत्या प्रयास गरेको स्थानीयले बताएका छन् । प्रहरीले हत्या गरेको केही समयमा नै रेग्मीलाई स्थानीयको सहयोगमा पक्राउ गरेको थियो । कार्कीको शव पोस्टमार्टमको लागि पठाइएको प्रहरीले जानकारी दिएको छ ।

यसरी भएको थियो हत्या
दिउँसो घरमा सुतिरहेको बेला केशवलाई जीवनले उनकै कोठामा भाला प्रहार गरेका थिए । भाला प्रहारपछि उनी छटपटाउँदै बाहिर निस्केको परिवारको भनाइ छ । ‘दाइ सुतिरहेको बेल त्यसले भाला हानेछ । दाइलाई विभिन्न ठाउँमा चोट लागेको थियो । दाइ भागेर मेरो घरमा आउनुभयो’, मृतक केशवकी बुहारीले भनिन् । उनका अनुसार भाला लिएर नै जीवनले केशवलाई खेदाएका थिए । ‘दाइलाई खेदाएर हाम्रो घरसम्म ल्यायो । त्यहाँ आएपछि हामी देउरानि जेठानी भएर भाला खोस्यौँ । त्यतिञ्जेलसम्म दाजु लडिसक्नु भएको थियो’, उनले भनिन् । त्यसपछि केशव बेहोस भएर बुहारीको घरमा लडेका थिए । भाला खोसेपछि जीवन उनीहरुको घरबाट पश्चिम भागेका थिए । भालाले लागेर गम्भीर घाइते भई लडेका उनलाई परिवारले सम्हाल्न थाले । भाग्यवश केशवका भतिजले जीवन भागेको देखे । त्यसपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए । खबर पाउनसाथ खटेको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

स्थानीय भन्छन् अकल्पनीय घटना भयो
यता स्थानीयले भने यो घटना अपत्यारिलो एवम् अकल्पनीय भएको बताएका छन् । ‘जसले भाला प्रहार गर्यो ऊ पनि एक समाजसेवी थियो’, एक स्थानीयले भने, ‘उ एक बिजुवा थियो । धेरैको उपचार पनि गथ्र्यो । खासै त्यस्तो त हामीले केही भेटेका थिएनौँ ।’ विगतमा दुईबीच भएको रिसिवीका कारण यो घटना भएको हुनसक्ने उनको आशंका छ । ‘अकस्मात यो घटना हुन गयो । पहिलेको रिसिवीको कारण पनि हुनसक्छ’, ती स्थानीयले भने ।

दुईबीच काठ तस्करीको विषयमा भएको विवाद
उनीहरुबीच काठको विषयलाई लिएर पहिला विवाद भएको स्थानीय बताउँछन् । एक कृषि फारमको काठ जीवनले चोरेर बेचेका थिए । त्यही कुरालाई लिएर केशवले अन्य दुई÷तीन जनासँगै गएर जीवनलाई त्यो नगर्न निर्देश गरेको स्थानीय बताउँछन् । त्यति भन्दा पनि नमानेपछि एक पटक केशवसहित तीन÷चार जनाले जीवनलाई प्रहरीको जिम्मा लागाएको स्थानीय बताउँछन् । प्रहरीले जीवनलाई पक्राउ गरेपछि आफू फर्केर मार्ने धम्की केशवसहित अन्यलाई दिइरहेको स्थानीयको भनाइ छ ।