इटहरीः ताप्लेजुङको पाथीभरा यमबरक गाउँपालिका ४ स्थित भित्री सडकखण्डमा गएराति भएको टिपर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा प्र ३–०१–०५ ख ९२७१ नम्बरको टिपरका सहचालक लमजुङ घर भएका १७ वर्षीय कृष्ण विश्वकर्मा रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । राति ११ बजे फुङलिङबाट डुम्रिसेतर्फ जाने क्रममा टिपर सडकबाट करिब २५ मिटर तल खसेपछि गम्भीर घाइते भएका सहचालक विश्वकर्मालाई उपचारार्थ अस्पतालतर्फ लाने क्रममा बाटैमा उनको ज्यान गएको प्रहरीको भनाइ छ ।

सोही दुर्घटनामा परी टिपरका चालक सिन्धुली घर भएका २४ वर्षीय होमकुमार विक र अर्का सहचालक ताप्लेजुङकै पाथीभरा यमबरक गाउँपालिका २ घर भएका मन्दीप लिम्बूसमेत गम्भीर घाइते भएकोमा उनीहरुलाई उपचारार्थ झापातर्फ पठाइएको जनाउँदै प्रहरीले टिपरलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।