इटहरीः मोरङको बेलबारी नगरपालिका ३ स्थित लोहोन्द्रा खोलानजिकै सोमबार दिउँसो अन्दाजी ५५ वर्षीय पुरुषको शव फेला परेको छ ।
शवको प्रकृति हेर्दा पहाडी मुलका जनजाति समुदायका पुरुषजस्तो देखिएपनि हालसम्म सनाखत भने हुन नसकेको जिल्ला प्रहरी कार्र्यालय मोरङका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) मानबहादुर राईले बताए । उनका अनुसार पिपलको रुखमुनि म्याट ओछ्याएर सुतिरहको अवस्थामा शव फेला परेपछि अपराहन्न ४ः३० बजे स्थानीयले प्रहरीलाई खबर गरेका थिए । केही समयदेखि सोही क्षेत्रमा रही मागेर गुजारा चलाइरहेका पुरुषको अत्याधिक कमजोरी वा दीर्घरोगका कारण सुतेकै स्थानमा मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।
मृतकको शरीरमा कुनै दाग वा चोट नदेखिएको बताउँदै प्रहरीले शवको पोस्टमार्टमका लागि सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाई अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक ऋषिराज ढकालले बताए ।