भोजपुरः माछा मार्न लगाएको करेन्ट लागी भोजपुरमा एक जनाको मृत्यु भएको छ ।

भोजपुरको पिखुवाखोलामा करेन्ट लगाएरमा माछा मार्ने क्रममा पिखुवा हाइड्रोपावरका मजुदर महेन्द्रनगरका ३४ वर्षीय रामबहादुर आलेमगरको सोमबार मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख कृष्णकुमार चन्दका अनुसार माछा मार्ने क्रममा पिखुवाखोलामा तार समातेको अवस्था शव फेला परेको थियो । नजिकै उनले मारेको माछा र ढडियासमेत फेला परेको उनले बताए । चन्दले भने, ‘घटनाको प्रकृति हेर्दा करेन्ट लागेर ज्यान गएको देखिन्छ ।

शव परीक्षण रिपोर्टपछि थप अनुसन्धान हुन्छ ।’ मगर हातमा तार पक्रिरहेको अवस्थामा मृत फेला परेको उनको भनाइ छ । स्थानीयले माछा मार्ने क्रममा मानिस खोलामा ढलेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनको औँलाको कापमा करेन्टले पोलेको डामसमेत रहेको प्रहरीको भनाइ छ । -रासस