इटहरीः मोरङका विभिन्न स्थानबाट पाँच जना प्रतिबन्धित लागूऔषधसहित पक्राउ परेका छन् ।

जिल्लाको मिक्लाजुङ गाउँपालिका ७ मधुमल्लाबाट सोमबार दिउँसो स्थानीय २२ वर्षीय करण लिम्बू र २७ वर्षीय सञ्चमान लिम्बूलाई अवैध लागूऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) मानबहादुर राईले बताए । उनका अनुसार मधुमल्लास्थित इलाका प्रहरी कार्यालयको टोलीद्वारा पक्राउ गरिएका अभियुक्तहरुका साथबाट ट्रामाडोल चार सय ४४ पत्ता, स्पासपेन २४ पत्ता र नाइट्रोजन दुई पत्ता बरामद गरेको छ । यसैगरी, सोमबार साँझ मोरङकै उर्लाबारी नगरपालिका ४ स्थित आइतबारे क्षेत्रबाट तीन जना युवाहरु लागूऔषधसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा २७ युवराज कटुवाल, २२ वर्षीय कमल दाहाल र १९ वर्षीय रञ्जित चौधरी रहेको डीएसपी राईले जानकारी दिए । उनका अनुसार इलाका प्रहरी कार्यालय उर्लाबारीको टोलीद्वारा पक्राउ परेका अभियुक्तहरुका साथबाट प्रतिबन्धित लागूऔषध ट्रामाडोल २० पत्ता र स्पासपेन २० पत्ता बरामद भएको छ । पक्राउ परेका सबै अभियुक्तहरुलाई सम्बन्धित प्रहरी कार्यालयमा हिरासतमा राखी लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।