इटहरीः गत चैत ८ गते बिहान १ बजे १२ जनाको समूले साङ्घातिक आक्रमण गरी घाइते बनाएका मोरङको पथरीशनिश्चरे नगरपालिका ८ स्थित गुराँस चौकका ४९ वर्षीय खड्गबहादुर तामाङको आज दिउँसो ज्यान गएको छ ।
१२ जनाको समूहले मादक पदार्थ सेवन गरी बाँसको भाटालगायत अन्य घरेलु हतियार प्रहार गरेपछि गम्भीर घाइते भएका तामाङलाई उपचारार्थ विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पताल लगिएकोमा सफल उपचारपछि उनी गएको आइतबार डिस्चार्ज भएका थिए । अस्पतालबाट डिस्चार्ज भएपछि घर फर्काइएका खड्काको स्वास्थ्यमा पुनः समस्या देखिएपछि अस्पताल पुर्याउन नपाउँदै उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) मानबहादुर राईले बताए । उनका अनुसार खड्काको ज्यान गएपछि आक्रमणमा संलग्न १२ जनामध्ये ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सन्दीप शेर्मा, रोमन मगर, सीमर लिम्बू, विशाल तामाङ, सचिन शेर्मा र सुगम लावति रहेको डीएसपी राईको भनाइ छ ।
घटनामा संलग्नताको आरोप लागेका सुशील राई, विवेक अधिकारी, पारस बुढाथोकी, सञ्जीव तामाङ, डिगबहादुर खड्का र शुक्रराज लिम्बू फरार रहेको बताउँदै उनीहरुको खोजी भइरहेको डीएसपी राईले जानकारी दिए । आक्रमणको घटनापछि किटानी जाहेरीका आधारमा ज्यान मार्ने उद्योग मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले पीडितको मृत्युपछि अभियुक्तहरुउपर कर्तव्य ज्यान मुद्दा दायर गर्ने तयारी गरेको प्रहरीले जनाएको छ ।